बिराटनगर: नेपालका संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेले आर्थिक विकास र समृद्धिका लागि पर्यटन क्षेत्र सरकारको पहिलो प्राथमिकतामा रहेको बताएका छन्। होटल ब्यवसायी महासङ्घ लुम्विनी प्रदेशको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनको शुक्रबार नेपालगञ्जमा उद्घाटन गर्दै मन्त्री पाण्डेले पर्यटन विकासका लागि नेपाली संस्कारअनुसार पाहुनालाई व्यवहार हुनुपर्ने बताए। मन्त्री पाण्डेले भने, ‘पर्यटनक्षेत्र विस्तारै लय समात्ने क्रममा छ, अर्थतन्त्र बलियो बनाउन होटल क्षेत्रको मुख्य भुमिका रहन्छ।'
उहाँले पर्यटन नीति र ऐन निर्माण र संशोधनमा ध्यान दिइने बताए। उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल छिटोभन्दा छिटो सञ्चालनका लागि पहल गरिने बताएका छन्। लुम्बिनी प्रदेशसभा सदस्य रत्न खत्रीले पर्यटन विकासका लागि राज्यको नीति र व्यवहारमा सुधार हुन आवश्यक रहेको बताउनुभयो। पर्यटकलाई गरिने व्यवहार मैत्रीपूर्ण हुनुपर्ने उनले जोड दिए।
होटल ब्यवसायी महासङ्घका अध्यक्ष भाष्कर काफ्लेले प्रदेशभित्र साना–ठुला गरी करिब ११ हजार होटल ब्यवसाय सञ्चालनमा रहेको भन्दै उनिहरुका लागि विशेष सहयोगका कार्यक्रम ल्याउन माग गरे। प्रदेशभित्र होटल ब्यवसायमा करिब ६० हजारले प्रत्यक्ष रोजगारी पाएको उनले बताए । राज्यले होटल ब्यवसायीलाई हेर्ने दृष्टिकोणमा परिबर्तन हुन आवश्यक रहेको उनले आग्रह गरेका छन्।
यस क्षेत्रमा लुम्बिनीमा करिब दुई खर्ब बराबरको लगानी रहेको उनको भनाइ छ। होटल ब्यवसायबाट बार्षिक ४० करोड कर राज्यले सङ्कलन गर्नेगरेको छ। अधिबेशनमा प्रदेशभरका १८ सस्थाका १५० बढी प्रतिनिधिको सहभागिता रहेको छ।