गान्तोक: सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङको नाममा कसैले सामाजिक सञ्जाल फेसबुकमा नक्कली प्रोफाइल बनाएको घटना प्रकाशमा आएको छ। राज्य सूचना एवं जन सम्पर्क विभागकी सचिवले आज जारी प्रेस विज्ञप्तिमा उक्त जानकारी गराएकी छन्।
उक्त नक्कली प्रोफाइल मुख्यमन्त्री कार्यालय अथवा कुनै आधिकारिक प्राधिकारणसॅंग सम्बद्ध नरहेको र अधिकृत नरहेको विज्ञप्तिमा स्पष्ट गरिएको छ। सर्वसाधारणलाई पनि सावधानी अपनाउन र यस नक्कली प्रोफाइलमा संलग्न नहुन आग्रह गरिएको छ। यस प्रोफाइलबाट गरिएका कुनै पनि सञ्चार वा अनुरोध वैधानिक नरहेको र उचित कारबाहीका लागि फेसबुकलाई तुरून्तै रिपोर्ट गर्न सुझाउ दिइएको छ।
अर्कोतिर, अधिकारीहरूले यस समस्यालाई सम्बोधन गर्न काम गरिरहेको जानकारी गराउॅंदै सिक्किमका नागरिकहरूलाई सतर्क बस्न तथा मुख्यमन्त्रीबाट सूचनाहरूका लागि प्रमाणित र आधिकारिक सञ्चार च्यानलहरूमाथि भर पर्न अनुरोध गरिएको छ।









