मल्ली: आईडीसीसी कमिटी १२- मल्ली कन्स्टीट्यूएन्सी-को आयोजनमा ७८औं स्वतन्त्रता दिवसको अवसरमा जारी प्रतिष्ठित एमएलए च्यालेञ्ज कप नक्आउट फूटबल टुर्नामेण्टमा शुक्रवार दुईवटा म्याच खेलियो। मल्ली डाँड़ा खेल मैदानमा भएको आजको म्याचमा पैयौंग फूटबल क्लबले सञ्जु फूटबल एकाडमीलाई १-०-ले पराजित गऱ्यो। यसरी दोस्रो म्याचमा दार्जीलिङको संकटा फूटबल क्लबले चिसोपानी फूटबल क्लबलाई ३-१-ले पराजित गऱ्यो। आज मुख्य अतिथिको रूपमा एरुंग लेप्चा (एमएलए, रिनचिंगपोंग कन्स्टीट्यूएन्सी) उपस्थित थिए। शनिवार दुईवटा म्याच खेलिनेछ। पहिलो म्याचमा मल्ली पीएस र छुजाचेन स्पोर्ट्स एकाडमीबीच भिड़न्त हुनेछ। यसरी दोस्रो म्याच ट्रक ड्राइवर्स एसोसिएशन, मल्ली र फ्यूचर स्टार्सबीच खेलिनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल १२ र १३ अगस्तमा हुनेछ।

यसरी फाइनल १५ अगस्तमा खेलिनेछ। यसरी १३ अगस्तमा म्याराथन दौड़ अनि अण्डर-१४ इण्टर स्कूल फूटबल टुर्नामेण्टको फाइनलसहित अन्य कार्यक्रमहरू रहनेछ। यस प्रतिष्ठित नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा अन्य आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ।










