अखिल किराँत राई संघद्वारा मुख्यमन्त्रीका पूर्व राजनीतिक सचिव जेकब खालिङ सम्मानित

IMG-20240726-WA0336

गान्तोक: अखिल किराँत राई संघ, सिक्किमद्वारा आज मुख्यमन्त्रीका पूर्व राजनीतिक सचिव जेकब खालिङलाई अभिनन्दन जनाइयो। मुख्यमन्त्रीका राजनीतिक सचिवको रूपमा रहँदा अनि हालसम्म अखिल किराँत राई संघ, सिक्किमको हितमा सराहनीय कार्य गरेको ठहर गर्दै संघले कृतज्ञता व्यक्त गरेको संगठनका सल्लाहकार डा. एसके राईले प्रष्ट पारे। संगठनका सेक्रेटेरी जेनरल जेपी राईको बाहुलीबाट पूर्व मुख्यमन्त्रीका राजनीतिक सचिव खालिङलाई कृतज्ञता पत्र प्रदान गरियो। योसँगै उनलाई सायाबुङ, फेङ्ला, डाकबुङ आदि संगठनका प्रतिनिधिहरूद्वारा प्रदान गरियो।

एकेआरएसद्वारा आफूलाई कृतज्ञता व्यक्त गरेकोमा खुशी प्रकट गर्दै मुख्यमन्त्रीका पूर्व राजनीतिक सचिव जेकब खालिङले विगत 5 वर्षमा राई जात-गोष्ठीको हितमा जतिपनि कार्य भयो त्यो मुख्यमन्त्री प्रेमसिंह तामाङ जस्तो दूरदर्शी अभिभावक पाएकोमा अनि संगठनमा निःस्वार्थ रूपमा समर्पित भएर जिम्मेवारी निर्वाह गर्ने कार्यकर्ता भएपछि सम्भव बनेको मन्तव्य पोखे। संगठनद्वारा माग गरिएको मात्र होइन मुख्यमन्त्री स्वयंले सोंचेर राई समुदायको हितमा कार्य गरिदिएको विचार पोख्दै यसको ज्वलन्त उदाहरण परेङगाउँमा निर्माण भएको माङखिम साथै किराँत राई क्षेत्रीय भाषिक एवं सांस्कृतिक शोध केन्द्र रहेको खालिङले जानकारी गराए। योसँगै राज्य सरकारद्वारा लगभग 50 करोड़को धनराशि आवण्टन गरेर पारुहाङ साप्टेन माङखिम निर्माण कार्य अनि अन्य धेरै पूर्वाधार निर्माण हुनसकेको उनले थप विचार पोखे। प्रजातान्त्रिक सिद्धान्त अनुसार, जनताद्वारा निर्वाचित व्यक्तिलाई स्वीकार गर्ने मानसिकताको विकास गर्दै आफ्नो जातको मुख्यमन्त्री हुँदा मात्र जातको विकास हुन्छ भन्ने मानसिकता त्याग्नुपर्ने खालिङले सबैलाई आह्वान गरेका छन्। सरकार प्रमुख कुनै पनि जातको हुनसक्ने मन्तव्य पोख्दै खालिङले आफ्नै जात, समुदायको सरकार प्रमुख भए मात्र जात, समुदायको विकास हुन्छ भन्ने मानसिकता राखेर जातिको विकास नहुने ठहर गरे। एसकेएम सरकार गठनपछि मुख्यमन्त्री प्रेमसिंह तामाङले राजनीति आ-आफ्नो ठाउँमा छ तर संस्थामा काम गर्ने प्रत्येक व्यक्ति एकीकृत भएर अघि बढ़्नुपर्छ भन्ने उदारवादी विचारको अनुरुप सराहनीय परिवेश सिर्जना भएको खालिङले अनुभव साझा गरे। विगत वर्षमा राई समुदायबाट कोही पनि मन्त्री, विधायक नरहँदा पनि मुख्यमन्त्री प्रेमसिंह तामाङको अगुवाईमा राई समुदायको विकासमा उल्लेख्य पहल भएको खालिङले जानकारी गराए। यसपाली राई समुदायबाट निर्वाचित मन्त्री, विधायक बनेपछि मुख्यमन्त्रीसम्म पुग्ने मार्ग अझ प्रशस्त बनेको खालिङले मन्तव्य पोखे। आफू सरकारमा जिम्मेवार पदमा हुँदा अनि अहिले पदमा नरहे पनि संगठन अनि सरकारमाझ सधैं पूल बनेर कार्य गर्ने कटिबद्धता व्यक्त गरे। योसँगै उनले एकेआरएसलाई राजनीतिबाट अलग राख्न सक्षम बनेको विचार पोख्दै विगतमा यस्तो सम्भव नरहेको स्मरण गरे।

अर्कोतिर, वर्तमान राज्यका विद्यालयहरूमा राई भाषाको पठन-पाठन कतिको गुणस्तरीय भइरहेको छ भन्नेबारे संगठनले ध्यान दिनुपर्ने उनले सुझाउ दिए। योसँगै एकेआरएसलाई आर्थिक रूपमा दह्रिलो बनाउनुपर्ने उनले सबैलाई आह्वान गरेका छन्। संगठनलाई आर्थिक रूपमा दह्रिलो बनाउन सकिए सबैको ध्यानाकर्षण गराउन सकिने उनले विचार पोखेका छन्।

सभाध्यक्षको आसनबाट बोल्दै एकेआरएसका सेक्रेटेरी जेनरल जेपी राईले एसकेएम सरकारको पहिलो कार्यकालमा राई समुदायबाट कोही पनि मन्त्री, विधायक नरहे पनि सरकारको इच्छाशक्तिमा धेरै काम हुनसकेको जानकारी गराए। यसमा मुख्यमन्त्रीका पूर्व राजनीतिक सचिव एक आधार बनेर खड़ा भएको उनले अनुभव साझा गरे। सरकार दिन्छु भन्ने मात्र होइन, दिइसकेर पनि दिन्छु भन्ने हुँदो रहेछ भन्ने वर्तमानमा आफूले थाहा पाएको उनले विचार पोखे। यसरी एकेआरएस फस्टाएर जान सकेको आफ्नो अनुभव साझा गरे।

संगठनका मूल सचिव आर.के. वालिङले संस्थालाई चाहिने आवश्यक दस्तावेज वर्तमान समितिले पूर्ण रूपले तयार गरेर एकेआरएसलाई दह्रिलो बनाएको जानकारी गराए।

कार्यक्रममा एकेआरएस केन्द्रिय कार्यकारिणी समिति, युवा, विद्यार्थी प्रकोष्ठका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement