मल्ली: आईडीसीसी कमिटी १२- मल्ली कन्स्टीट्यूएन्सी-को आयोजनमा ७८औं स्वतन्त्रता दिवसको अवसरमा प्रतिष्ठित एमएलए च्यालेञ्ज कप नक्आउट फूटबल टुर्नामेण्ट बिहीवारदेखि शुरु भयो। मल्ली डाँड़ा खेल मैदानमा भएको उद्घाटन म्याचमा मिक्स्ड अप् बोइज, खरसाङले गान्तोकको जोंग्री फूटबल क्लबलाई ३-१-ले पराजित गऱ्यो। अब प्री-क्वार्टर फाइनलमा मिक्स्ड अप् बोइजको भिड़न्त सिलगढ़ी युनाइटेड फूटबल क्लबसँग हुनेछ। उद्घाटन समारोहमा मुख्य अतिथिको रूपमा एनबी दहाल (सड़क अनि ब्रीज मन्त्री, सिक्किम सरकार) अनि विशिष्ट अतिथिको रूपमा एनबी प्रधान (एमएलए, मल्ली) उपस्थित थिए।

शुक्रवार दुईवटा म्याच खेलिनेछ। पहिलो म्याचमा सञ्जु एफसी र पैयौंग फूटबल क्लबबीच भिड़न्त हुनेछ। यसरी दोस्रो म्याच चिसोपानी एफसी र संकटा एफसी, लेबोंगबीच खेलिनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल १२ र १३ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ। यसरी १३ अगस्तमा म्याराथन दौड़ अनि अण्डर-१४ इण्टर स्कूल फूटबल टुर्नामेण्टको फाइनलसहित अन्य कार्यक्रमहरू रहनेछ।

यस प्रतिष्ठित नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसको साथमा अन्य आकर्षक व्यक्तिगत पुरस्कारहरू पनि रहनेछ।









