खरसाङ: मार्सल आर्ट एण्ड फिटनेस एकाडेमीका निर्देशिका कल्पना क्षेत्री र प्रशिक्षक सेम्पाई सुशील क्षेत्रीको नेतृत्वमा एकाडेमीका २९ जना विद्यार्थीहरूको टोली २६ देखि २९ जूलाईसम्म कोलकाताको नेताजी इन्डोर रंगशालामा हुने आठौं अन्तर्राष्ट्रिय कराँते च्याम्पियनशीपमा सहभागी हुन आज खरसाङदेखि प्रस्थान गरेको छ। उत्तर बंगाल कराँते च्याम्पियनशीपमा प्रथम र दोस्रो स्थान हाँसिल गर्ने विद्यार्थीहरूले हरेक वर्ष अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिने अवसर पाएका छन् भने यस वर्ष सोनादाका ९ जना, सिपाहीधुराका ५ जना, खरसाङका ५ जना, महानदीका ३ जना, झनेश्वर मेमोरियल स्कूलका १ र ६ जना विद्यार्थीहरू गोथल्स मेमोरियल स्कूलबाट देशकै सबैभन्दा ठूलो कराँते इभेन्टमा प्रस्तुति दिने खेलाडी छनौट भएका छन्। माफाका अध्यक्ष सेन्सी सन्दीप प्रधानले सहभागीहरूका लागि सबै व्यवस्था भइसकेको र समग्र खर्चमा एकाडेमीले टोलीलाई ३० प्रतिशत प्रायोजन गरेको जानकारी दिएका छन्। उनले यस वर्ष विद्यार्थीहरूलाई तालिम दिन प्रशिक्षक तथा प्रशासनिक टोलीले निकै मेहनेत गरेकाले नतिजामा आफु थप सकारात्मक रहेको भन्दै टोलीलाई शुभकामना व्यक्त गरेका छन्।










