गान्तोक: राज्यकै एक प्रमुख पर्यटन गन्तव्य अनि राजधानी गान्तोकको हृदयस्थल मानिने एमजी मार्गलाई प्लास्टिक बोतलमुक्त अनि स्वच्छ राख्ने उद्देश्यको साथमा सिक्किम सरकारको शहरी विकास विभागले यहाँ दुईवटा पेट बोटल स्रेडिङ मशिनको स्थापना गरेको छ जसको आज विभागका मन्त्री भोजराज राईको बाहुलीबाट विधिवत रुपमा उद्घाटन गरियो। यस अवसरमा क्षेत्र विधायक एवं शहरी विकास विभागका सल्लाहकार दिले नामग्यल बर्फुङ्गपाको पनि विशेष उपस्थिति रहेको थियो।
यस पेट बोटल स्रेडिङ मशिनबाट दुईवटा लाभ पाइनेछ। पहिलो त एमजी मार्गमा जताततै फालिने गरेका पानी साथै अन्य विभिन्न पेय पदार्थको प्लास्टिकको बोतलहरू यस मशिनमा हाल्दा क्षेत्रमा फोहर मैला कम्ति हुनेछ र पर्यावरण संरक्षणमा पनि सहयोग पुग्नेछ। अर्को, स्रेडिङ मशिनले त्यसमा हालिएका प्लासिटकका बोतललाई काटेर सा-साना टुक्रा पार्नेगर्छ जसले गर्दा कम्ति ठाउँमा धेरै प्लास्टिकका बोतहरूलाई अटाउन सकिन्छ। यसरी फालिएका प्लास्टिकका बोतलहरूको आयतन घटाएर ती बोतलहरूलाई रिसाइकलको निम्ति निर्धिष्ट ठाउँमा लैजान सहज हुनेछ। यी मशिनहरूमा सङ्ग्रह भएका प्लास्टिकका टुक्राहरूलाई गान्तोक नगर निगमले जमा गरेर रिसाइकलको निम्ति पठाउनेछ र यसबाट आर्जित कोषलाई क्षेत्रकै सरसफाई र विकासमा प्रयोग गर्नेछ।
शहरी विकास विभागले जानकारी गराएअनुसार राज्यका अन्य बजारहरू जस्तै रम्फू, सिङ्गताम, नाम्ची र जोरथाङमा पनि यस्तै पेट बोटल स्रेडिङ मशिन स्थापना गरिनेछ भने मंगन बजारमा पहिले नै यो मशिन स्थापना गरिसकेको छ। दुई लिटर भन्द कम्तिको बोतलहरूलाई स्रेड गर्न सक्ने यस मशिनको मूल्य करिब ५ लाख रुपियाँ रहेको छ।
मन्त्री भोजराज राईले सबै गान्तोकवासी अनि एमजी मार्ग आउने स्थानीय साथै पर्यटकहरूलाई यस मशिनको उपयोग गर्ने आह्वान गरेका छन्। यस मशिनको स्थापनाले शहरको फोहर व्यवस्थापनसँगै स्वच्छता अनि पर्यावरणको संरक्षणलाई पनि बल पुग्ने उनले बताए।
यसै अवसरमा एमजी रोडमा शहरी विकास विभागको स्वच्छ भारत मिशन अभियानअन्तर्गत फोहर प्रवन्धनमाथि एउटा सड़क नाटक पनि मञ्चन गरियो जुन नाटकलाई आगामी दिनमा राज्यका अन्य शहर बजारमा पनि मञ्चन गरिनेछ।