खरसाङ: केन्द्रको बजट सत्रमा टिस्टाको निम्ति कुनै चर्चा नभएको विषयमा आफ्नो प्रतिक्रिया व्यक्त गर्दै गोर्खाल्याण्ड क्षेत्रिय प्रशासनका सभासद एवम् खरसाङ सचिवालयका इन्चार्ज प्रणाम रसाईलीले दार्जीलिङका सांसद राजु विष्टले यस दिशामा कार्य नगरेको आरोप लगाएका छन्। तिनले टिस्टा बाढ पिडितहरूको निम्ति प्रथम बजट सत्रमानै कुनै उल्लेख नहुनुले स्पष्ट हुन्छ कि टिस्टाको निम्ति सासंदले केही गरेका छैनन् भनी जनाएका छन्। रसाइलीले यसपल्ट पनि सांसद विष्टले चुनाउअघि दिएको वचन अनुरूप कार्य नगरेको बताउँदै जस्तो चुनाउ जित्छु, त्यस्तै भोलिपल्टदेखि म टिस्टावासीको निम्ति मैदानमा उत्रिएर कार्य गर्छु भनेको कुरा स्मरण गराए औ यद्यपि यस दिशामा तिनले पटक्कै कार्य नगरेको जनाए। अर्कोतिर रसाइलीले बन्द चियाबगानमा बसोबासो गर्ने मानिसहरूको निम्ति पनि सांसदले काम नगरेको अभियोग लगाए। तिनले आज धेरै चियाबगानहरू बन्द भएको कारण त्यहाँका मानिसहरूले धेरै दुःख पाइरहेका छन् भन्दै केन्द्रले चाहेको खण्डमा अवश्यनै चियाबगानका मानिसहरूको उत्थानको निम्ति केही गर्न सक्छ भन्दै तर केन्द्र सरकारमा रहेको भाजपा पार्टीले जनतालाई केवल चुनाउअघि प्रयोग गरिरहेको बताए। तिनले टिस्टा बाढ पिडित अनि चियाबारीको मानिसहरूको उत्थानको निम्ति पहाडका भाजपा सहयोगी दलहरूले पनि बोल्नुपर्छ भनी बताए।