गलत प्रक्रियाले गलत समाधान दिन्छ: अनित थापा
दार्जिलिङ: गलत प्रक्रियाले गलत समाधान दिन्छ भनी गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको प्रमुख कार्यपाल अनित थापाले बताएका छन्। उनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुरा बताएका छन्। उनले विज्ञप्ति जारी गर्दै भनेका छन् -‘आज लालकोठीमा मैले दार्जीलिङ पूलबजार खण्ड अथवा पञ्चायत समितिका सदस्यहरुसँग बैठक बसेको थिए। बैठकमा पक्ष अनि विपक्षका समस्त सदस्यहरूको उपस्थिति रहेको थियो। दशकौंसम्म पञ्चायत ब्यवस्थादेखि वञ्चित पहाडमा पञ्चायत व्यवस्था बल्ल पुनः स्थापना भएको छ। स्थानीय क्षेत्रको विकास अनि उन्नतिमा पञ्चायतको ठूलो भूमिका रहेको हुन्छ। विकास हुन्छ भनेर मात्र हुँदैन तर क्षेत्रलाई अथवा ग्राम पञ्चायत क्षेत्रलाई कुन कुराको आवश्यकता छ, कुन कुन समस्यासँग क्षेत्र अनि क्षेत्रवासी जुझ्दैछ अनि त्यसको निदानको निम्ति कुन पहल शुरु गर्नुपर्छ। त्यो जानकारी ग्राम पञ्चायत सदस्यदेखि पञ्चायत समितिसम्मलाई भएको हुनुपर्नेछ। तब क्षेत्रको सही विकास हुनुसक्छ।’
जीटीए प्रमुख अनित थापाले आफ्नो विज्ञप्तिमा अघि भने,’व्यवस्था चलाउँदा प्रक्रिया जान्नु पनि आवश्यक हुन्छ। कुन कुरा कहाँ समाधान हुन्छ त्यो जानकारी हुनु अति नै जरुरी हुन्छ। गलत प्रक्रियाले गलत समाधान दिन्छ। एक दिनमा हुने काम एक सप्ताह पनि लाग्छ।प्रक्रिया ठीक राख्न कसले कस्तो निर्णय लिने शक्ति पाएको छ, त्यो जान्नु पनि आवश्यक हुन्छ।’
उनले अझ भने टका छन् -‘यस्तै विकासका कुराहरू, पञ्चायत चलाउने प्रक्रिया, निर्णयका केन्द्रहरू विषय हामीले आजको बैठकमा विमर्श गर्यौ। पहाड हाम्रो हो। यहाँको व्यवस्था हाम्रै हातमा छ। पहाडलाई अघिल्लो खुड्किलोमा पुर्याउन हामीले ग्राम पञ्चायत स्तरदेखि नै व्यवस्थित भएर कार्य गर्नुपर्छ।’
उनले भेटघाट गर्ने क्रमलाई हामी निरन्तरता दिनेछौं भनी पनि प्रेस विज्ञप्तिमा जानकारी गराएका छन्।