भद्रपुर: आज बुधबार त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरको ९एन–एएमई सिआरजे–२०० जहाज दुर्घटनामा मृत्यु भएका १८ जना मध्ये तीनजना विराटनगरका रहेका छन्। दुर्घटनामा मृत्यु भएका जहाजका को–पाइलट सुशान्त कटुवाल, इन्जिनियर अश्विन निरौला र सुरक्षा (सेफ्टी चिफ) सागर आचार्य विराटनगरका हुन्। मृत्यु भएका कटुवाल विराटनगरस्थित आयल निगम क्षेत्रका बासिन्दा भएको सौर्य एयरलाइन्स विराटनगर स्टेशन म्यानेजर प्रकाश पौडेलले जानकारी दिए। त्यसैगरी दुर्घटनामा ज्यान गुमाउने इन्जिनियर निरौला पनि विराटनगरकै बासिन्दा हुन्। सौर्य एयरलाइन्समा कार्यरत उनी जिल्ला प्रहरी कार्यालय मोरङ नजिकैका बासिन्दा भएको जनाइएको छ। सौर्य एयरका सुरक्षा (सेफ्टी चिफ) सागर आचार्य विराटनगरको मधुमाराका बासिन्दा हुन्। आज बिहान ११ बजे सौर्य एयरलाइन्सको जहाजका पाइलट ३७ वर्षीय मनिष शाक्यको भने उद्दार गरिएको छ। उनको अहिले केएमसी अस्पतालमा उपचार भइरहेको जनाइएको छ।

त्रिभुवन विमानस्थलबाट पोखराका लागि उडेको जहाज करिव दुई सय मिटर माथि पुगेपछि कोल्टिएर भुईँमा बजारिएको सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा देखिएको थियो। दुर्घटनापछि जहाजमा आगो लागेको र धुवाँको मुस्लो देखिएको थियो। जहाज अवतरणका क्रममा ठूलो आवाज आएको प्रत्यक्षदर्शीहरूले बताएका छन्। उड्ने क्रममा धावनमार्गबाट जहाज चिप्लिएको भनिएपनि जहाज आकासमा पुगेपछि पुनः भुईँमा खसेको देखिएको छ।
