गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टी नयॉं दिल्लीको भाजपा मुख्यालयमा आज आयोजित राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) को बैठकमा सहभागी बन्यो। मुख्यमन्त्री पीएस तामाङको निर्देशनमा बिकास बस्नेत र योगेन तामाङ बैठकमा सहभागी बनेको एसकेएमले आज प्रेस विज्ञप्तिमा बताएको छ।
एनडीए बैठकको अध्यक्षता केन्द्रिय वित्तमन्त्री निर्मला सीतारमणले गरेकी थिइन्। बैठकमा केन्द्रिय मन्त्रीहरू पियुष गोयल, राजीव रन्जन सिंह, अर्जुन राम मेघवाल, भाजपा राष्ट्रिय मिडिया प्रभारी अनिल बालुनी, प्रवक्ता सम्बित पात्रा, दार्जीलिङका सांसद राजु विष्ट आदि उपस्थित थिए।
बैठकको मुख्य मुद्दा संसदमा आज प्रस्तुत गरिएको केन्द्रिय बजेट २०२४-२५ बारे जानकारी गराउनु र एनडीए गठबन्धन दलका सदस्यहरूद्वारा उठान गरिएका विभिन्न विषयहरूको बारेमा स्पष्ट गर्नु रहेको बताइएको छ।
एसकेएम प्रतिनिधिहरूले टिस्टा बाढीको प्रकोपको निम्ति केन्द्रिय सहायता घोषणा गरेकोमा केन्द्रिय वित्तमन्त्रीलाई मुख्यमन्त्री प्रेमसिंह तामाङको तर्फबाट धन्यवाद दिए। यसैगरी, एसकेएमले प्रधानमन्त्री नरेन्द्र मोदी र वित्तमन्त्रीलाई व्यापक केन्द्रिय बजेट २०२४-२५ को निम्ति सिक्किमे जनताको तर्फबाट बधाई दिएको छ।