तपश्री नृत्य तथा संगीत एकाडेमीको १०औं स्थापना भव्यरूपमा पालन

IMG-20240723-WA0260

गान्तोक: केवल तीनजना नानीहरूलाई लिएर आजभन्दा दश वर्षअघि आरिथाङको सानो ठाउँबाट आफ्नो यात्रा शुरु गरेको तपश्री नृत्य तथा संगीत एकाडेमीले आज एक दशकको यात्रा पूरा गरेको खुशीमा यहाँको मनन केन्द्रमा भव्यताको साथ दशौं स्थापना दिवस पालन गऱ्यो। यस स्थापना दिवसलाई तपश्रीले “एक दशकको कथा’’ नाम दिएको थियो, जसमा आफ्नो दशकीय यात्रा अवधि भोग्नु परेको आरोह-अवरोहहरूलाई झल्काउने प्रयास गरिएको थियो। कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङ मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले कुनै पनि कुरा मनबाटै गर्ने प्रत्येक राज्यवासीको पहललाई आफ्नो उपस्थितिले प्रेरणा मिल्नेछ भन्ने सोंच राखेर आफ्नो व्यस्त कार्यक्रममाझ पनि आज आफू उपस्थित भएको विचार पोखे। आजको यस कार्यक्रमबाट राज्यका नानीहरू अब कुनै पनि क्षेत्रमा कमी छैन रहेछ भन्ने स्पष्ट बुझेको मन्तव्य पोखे। वर्तमान सरकार कलाकारहरूलाई मान, सम्मान र सहयोग गर्ने सरकार हो, यसमा कुनै स्वार्थ लुकेको छैन भन्ने उनले विश्वास दिलाए। अब श्रमिक कल्याण बोर्ड, कृषक कल्याण बोर्ड, कला-संस्कृति एवं विकास धरोहर बोर्ड, विद्यार्थी कल्याण बोर्ड, खेल विकास बोर्ड, अवकाशप्राप्त कर्मचारी कल्याण बोर्ड आदि गठन गरेर राज्यका ती क्षेत्रमा संलग्न राज्यवासीको हितमा काम गर्ने मुख्यमन्त्रीले घोषणा गरे। ती बोर्डहरूमा दक्ष व्यक्तित्वहरूलाई नै जिम्मेवारी सुम्पिने पनि उनले अवगत गराए। गत वर्ष कलाकार भरोसा सम्मेलन आयोजन गरिएको स्मरण गराउँदै यस्ता कार्यहरूबाट कलाकारहरूले मनोबल पाउने विचार पोखे। चुनाउको छेकमा मात्र होइन प्रतिवर्ष अब कलाकार भरोसा सम्मेलनसँगै विविध भरोसा सम्मेलन आयोजन गर्ने मुख्यमन्त्रीले घोषणा गरे। मुख्यमन्त्री तामाङले कलाकारहरूलाई प्रोत्साहित गर्दै सरकार कलाकारहरूको साथ रहेको कटिबद्धता व्यक्त गरे। गत वर्ष राज्यका प्रत्येक कलाकारहरूको एकाडेमीहरूलाई ५-५ लाख रुपियाँ राज्य सरकारको पक्षबाट सहयोग पुऱ्याइएको थियो भने यसपाली पनि प्रत्येक कलाकारहरूको एकाडेमीहरूलाई रु.५-५ लाखको अनुदान प्रदान गर्ने मुख्यमन्त्रीले घोषणा गरे। मुख्यमन्त्री शिक्षा सहयोग योजना अन्तर्गत अब राज्यका गरीब नानीहरूलाई सहयोग पुऱ्याउने पनि मुख्यमन्त्री तामाङले आज घोषणा गरे।

कार्यक्रममा तपश्री नृत्य तथा संगीत एकाडेमीका संस्थापक एवं निर्देशक सुश्री कोमल गुरुङले यहाँसम्मको यात्रा अवधि कोरोनाकाल सबैभन्दा विकट स्थिति रहेको तीतो अनुभव भावुक बन्दै साझा गरिन्। तथापि, आफ्नो अभिभावक अनि वर्तमान राज्य सरकारको प्रेरणादायी पहलबाट आफ्नो मनोबल दह्रिलो बनाउन सफल भएको बताइन्।

कार्यक्रमको मुख्य आकर्षण संगीतबद्ध रामायण रहेको थियो, जसमा तपश्री एकाडेमीका कलाकारहरूले खुबै सुन्दर ढंगमा प्रस्तुत गरेका थिए, जसलाई मुख्य अतिथि एवं मुख्यमन्त्री स्वयंले खड़ा भएर सराहना गरे। तपश्री एकाडेमीको तर्फबाट मुख्यमन्त्री प्रेमसिंह तामाङ अनि उनकी धर्मपत्नी श्रीमती कृष्ण राईलाई सम्मान जनाउने कार्य गरियो भने विविध क्षेत्रमा श्रेष्ठ एकाडेमीका विद्यार्थीहरूलाई प्रेरणास्वरूप स्मृति चिह्न प्रदान गरियो। यसरी नै कलाको क्षेत्रमा राज्यलाई प्रतिनिधित्व गरिरहेका युवा प्रतिभाहरूलाई पनि एकाडेमीको पक्षबाट सम्मान जनाइयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement