दार्जिलिङ: आगामी मानसून सेसनमा यदि सांसद राजु विष्टले गोर्खाको ११ जनजातिको मुद्दालाई संसदमा बहसको निम्ति ल्याएनन् भने भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले शीतकालीन सत्र अघि सडकदेखि संसदसम्म विरोध प्रदर्शन गरेर दबाव सृष्टि गर्नेछ भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय प्रवक्ता एंव जीटीएको जनसम्पर्क अधिकारी एसपी शर्माले आज बताएका छन्। उनले आज पत्रकार सम्मेलन बोलाएर अहिलेको समय राजनैतिक पार्टीहरूमा कुनै एजेण्डा नरहेको र केवल बेसलेस आरोप र प्रोपोगाण्डा मात्र सिर्जना गरिहेको आरोप लगाएका छन्। शर्माले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले चुनावको बेला मात्रै जातीय मुद्दामाथि काम गर्ने होइन तर चुनावपछि पनि जातीय मुद्दामाथि गम्भीरतापूर्वक काम गरिनुपर्छ भनी ठान्छौ भन्दै अब जातीय मुद्दामाथि भागोप्रमोले दवाब सिर्जना गर्ने कार्य गर्ने बताएका छन्। उनले अहिले भागोप्रमो कतिपय गृह कार्यमा रहेको कारणले सांसद राजु विष्ट र पहाड़का गठबन्धन दलहरूलाई समय दिएको बताउँदै अब मनसुन सत्रमा जातीय मुद्दामाथि काम गर्नलाई दवाब सिर्जना गर्ने साथै जातीय मुद्दालाई सडकदेखि संसदसम्म लगेर विरोध प्रदर्शन गरेर दबाव सृष्टि गर्नेछ भनी बताएका छन्।