कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले मंगलबार केन्द्रीय बजेट २०२४-२५ को आलोचना गरिन्l यसलाई राजनीतिक रूपमा प्रेरित, दिशाहीन, जनविरोधी र दुरदर्शिताविहीन बताइन्। ‘दिशाविहीन, जनविरोधी, कुनै भिजन छैन, राजनीतिक मिशन मात्रै हो। म उज्यालो देख्दिनँ, अँध्यारो हो’, उनले भनिन्। उनले २०२४-२५ को बजेट जनविरोधी, गरिब विरोधी र राजनीतिक पक्षपाती बजेट भएको आरोप लगाइन्। उनले भनिन्, ‘यो बजेट जनता विरोधी, गरिब विरोधी हो, आम जनताका लागि होइन, एउटा दललाई खुशी पार्ने बजेट हो। राजनीतिक पूर्वाग्रहले भरिएको बजेट हो।‘ भाजपाले चुनावका बेला झूटा वाचा गरेको र पूरा नगरेको भन्दै आलोचना गर्दै उनले भनिन्, ‘निर्वाचनका बेला ठूला ठूला दाबी र वाचा गर्छन् तर भोट पाएपछि दार्जीलिङ, कालेबुङ बिर्सन्छ। दार्जीलिङका पहाडी क्षेत्रका मानिसहरूले यो याद गर्नुपर्छ सिक्किमलाई चीजहरू प्राप्त गर्न दिनुहोस्, हामीलाई कुनै आपत्ति छैन तर दार्जीलिङलाई वञ्चित गर्नु ठीक होइन।‘