गान्तोक: सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको केन्द्रिय कार्यकारिणी समितिको एक विशेष बैठक आज राजधानीस्थित मनन केन्द्रमा पार्टीका अध्यक्ष पीएस गोलेको अध्यक्षतामा सम्पन्न भयो। बैठकमा पार्टी अध्यक्षले पार्टीको संविधान अन्तर्गत केन्द्रिय कार्यकारिणी समिति, राज्यस्तरीय समिति, जिल्लास्तरीय समिति, समष्टिस्तरीय समिति, ब्लक अनि वार्डस्तरीय समितिलाई तत्काल प्रभावका साथ लागू हुनेगरी विघटन गरिएको घोषणा गरे।
समितिहरू विघटन गरिएपछि मन्त्री अरुण उप्रेतीले श्रीमान पीएस गोलेकै संघर्षका कारण अहिलेको अवस्थामा पार्टी यतिसम्मको बलियो हुन पुगेको जिकिर गर्दै पुनः पीएस गोलेलाई नै पार्टी अध्यक्षको रूपमा चयन गर्नुपर्ने प्रस्ताव राखे, जसलाई मन्त्री सोनाम लामाले समर्थन जनाएका थिए।
पीएस गोलेलाई पार्टी अध्यक्षको रूपमा पुनः आसिन गराउन उपस्थित सम्पूर्ण पार्टी सदस्य वर्गद्वारा व्यापक समर्थन गरियो र विधायक सञ्जीत खरेलले पीएस गोले पुनः अध्यक्ष पदमा मनोनित गरिएको घोषणा गरे। २०२४ को आम चुनावमा विजय प्राप्त गरेपछि बसेको केन्द्रिय कार्यकारिणी समितिको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्षले यसपल्टको ऐतिहासिक जीतका लागि सिक्किमे जनता लगायत पार्टीका हरेक स्तरमा रहेर खट्ने क्रान्तिकारी सहयोद्धाहरूप्रति आभार व्यक्त गरे। सम्बोधनको क्रममा अध्यक्षले २००९ को गोले खेमा रहँदा गरिएका संघर्षका दिनहरूलाई समेत सम्झना गर्दै त्यस समयदेखि पार्टीको हितमा काम गर्ने सम्पूर्णप्रति आभार व्यक्त गर्दै पार्टीलाई योगदान पुऱ्याउनेहरूको पनि उनले सम्झाना गरे।
गत अप्रेलमा भएको चुनावमा एसकेएम पार्टीले जुन अपार जीत हासिल गरेको छ त्यो जीत पार्टीले समावेशी नीति अपनाएको कारण भएको बताए। उनले भने, “समावेशी राजनीति हाम्रो जीतको मुख्य कारण हो। त्यसैगरी क्रान्तिकारीहरूद्वारा ‘टीम एसकेएम’ भएर गरिएको कामले हाम्रो ऐतिहासिक जीत भएको हो। हामीले पहिलो कार्यकालमा समावेशी नीतिलाई अपनाएर काम गऱ्यौँ अब सहभागिताको नीति लिएर काम गर्नेछौँ। ‘हाम्रो सहभागिता-हाम्रो सफलता’ नारालाई लिएर अब हामी सुनौलो अनि समृद्ध सिक्किम निर्माणको दिशामा काम गर्नेछौँ।” अध्यक्षले आफ्नो सम्बोधनमा बताए- “पार्टीले गरेको जुनै निर्णयलाई पनि पार्टी कार्यकर्ताले स्वीकार गर्नुपर्छ तब मात्र पार्टी बलियो बनेर जानेछ। पार्टीले गरेको निर्णयलाई सबैले सर्वोपरि मान्नुपर्छ।”
अध्यक्षले २०१९-मा एसकेएम पार्टीले सरकार गठन गरेर पहिलो कार्यकालमा पूर्वको सरकारले २५ वर्षमा गर्न नसकेको कामहरू गरेको उल्लेख गरे। “अहिले हामी हाम्रो सरकारको दोस्रो कार्यकालमा छौँ। अब सबै हामी मिलेर अझ ऊर्जाका साथ जनताका समस्या, अभाव र आवश्यकतालाई पूरा गर्ने दिशामा काम गर्नुपर्छ। यस कार्यकालमा एसकेएम पार्टीको सरकारले बिजुली, पानी र सड़क जस्ता पूर्वाधारहरूलाई दुरुस्त पार्ने दिशामा काम गर्नेछ र यसको निम्ति विकासीय मोडलको रूपमा बिपास नाम दिइएको छ, उनले भने।
पार्टी अध्यक्षले अबदेखि हरेक निर्वाचन क्षेत्रमा पार्टी कार्यालय प्रतिदिन खुल्ला रहनुपर्ने निर्देश दिँदै सम्बन्धित क्षेत्रका विधायकले अनिवार्य रूपमा हप्तामा एकदिन पार्टी कार्यालयमा उपस्थित रहेर जनताका दुखेसोहरू सुन्नुपर्ने आग्रह गरेका छन्।