खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारे महानदी समष्टिको जंगपाना चिया बगानमा गोर्खा जनमुक्ति मोर्चाका ट्रेड युनियन दार्जीलिङ तराई डुवर्स प्लान्टेशन लेवर युनियन (डीटीडीपीएलयु) पुनः गठन गरिएको छ। जंगपाना चियाबारीमा गोजमुमोको ट्रेड युनियन गठन गर्नलाई यूनियनका केन्द्रीय अध्यक्ष सुरज सुब्बा अनि अन्य वरिष्ठ नेतृत्वहरू उपस्थित रहेका थिए। उक्त ट्रेड युनियन गठन गर्नलाई जंगपाना चिया बगानस्थित जंगपाना जुनियर हाई स्कूलको प्राङ्गणमा चक्रबहादुर गुरुङको सभपतित्वमा डीटीडीपीएलयूको सांगठनिक सभा सम्पन्न भएको छ। उक्त सभामा नै डीटीडीपीएलयुको जंगपाना शाखा समितिको पुनः गठन गरिएको छ। लामो समयको अन्तरालपछि गोर्खा जनमुक्ति मोर्चाको ट्रेड युनियनको ब्यानरमा जंगपानामा आयोजित उक्त सभामा डीटीडीपीएलयुको केन्द्रीय समितिका अध्यक्ष सुरज सुब्बा, केन्द्रीय समिति सदस्यहरू सुनिल थापा अनि हमिङ्ग तामाङ, खरसाङ ट्रेड युनियनका संयोजक महिपाल लामा, युवा मोर्चा खरसाङ महकुमा समिति सचिव अरुण थापा, युवा मोर्चा खरसाङ महकुमा समिति अध्यक्ष सत्यवान छेत्री, गोजमुमो तीनधारे महानदी समष्टि अध्यक्ष ऐतमान राई साथै उक्त क्षेत्रका शाखा, ब्लक, समष्टि अनि स्थानीय नेतृत्वहरू, कार्यकर्ता अनि समर्थकहरूको उपस्थिति थियो। उक्त सभामा नै सांगठनिक गतिविधिमाथि जोर दिँदै जंगपाना चिया बगानमा पहिला पनि रहेको गोर्खा जनमुक्ति मोर्चाको ट्रेड युनियनको पुनः गठन गरिएको छ। सभामा आफ्नो वक्तव्य राख्दै स्थानीय विनोद गुरुङले बगानको प्रबन्धक पक्षबाट यस युगमा पनि श्रमिकहरूलाई विभिन्न पक्षमा शोषण गरिने गर्छ साथै विभिन्न सहुलियतहरूबाट वञ्चित राखिएको छ भनी आरोप लगाएका छन्। सभामा केन्द्रीय समितिका सदस्य सुनिल थापाले डीटीडीपीएलयु पहाड़को चिया बगान बचाउने पक्षमा रहेको बताए। बगानमा कार्यरत् श्रमिकहरूलाई आ-आफ्नो भविष्य निधि कोष, ग्राजुयएटी, पेन्सन आदि कसरी पाउन सकिन्छ भन्ने विषयमा सभामा तक्निकी रुपमा जानकारी गराए। सभामा स्थानीय सजित राईले पार्टीका केन्द्रीय ट्रेड युनियन समिति साथै महकुमा समितिले स्थानीय नव गठित युनिटलाई सधैं नै साथ दिनुपर्छ भनी अपील गरे। पार्टीका युवा मोर्चाका खरसाङ महकुमा अध्यक्ष सत्यवान छेत्रीले श्रमिक संगठन ऐन मुताबिक सञ्चालन गरिए श्रमिकहरुलाई धेरै सुविधाहरू प्रदान गर्न सकिन्छ भनी बताएका छन्। यस्तै प्रकारले सभामा केन्द्रीय अध्यक्ष सुरज सुब्बाले आफ्नो वक्तव्यमा चिया बगानको निम्ति छुट्टै कानून बनाउन पर्ने अनि रिस्टाबिलिस्टमेन्ट ऐन सरकारले बनाउन पर्ने विषयमाथि जोर दिए। सभालाई सञ्चालन गोजमुमो तीनधारे महानदी समष्टि अध्यक्ष ऐतमान राईले गरेका थिए। नव गठित जंगपाना डीटीडीपीएलयुको शाखा समितिमा अध्यक्ष दिनेश गरुङ, उपाध्यक्ष अजय राई, महासचिव सचेन्द्र छेत्री, सहसचि मन्दीप देवान, कोषाध्यक्ष विमल गुरुङ, सहकोषाध्यक्ष राजा गुरुङ, कार्यकारिणी सदस्य छजना अनि प्रमुख सल्लाहकार छजना चयन गरिएका छन्। सभाको शुरुमा गोजमुमो केन्द्रीय समिति कार्यकारी अध्यक्ष डा लोपसाङ लामाको निधनमा शोक प्रकट गर्दै मौन धारण गरी प्रार्थना गरियो भने दिवंगत आत्माको चिर शान्ति अनि यो दुःखको घड़ीमा लामाको परिवारका सदस्यहरूलाई ईश्वरले सहने शक्ति प्रदान गरुन् भनी प्रार्थन गरियो भनी गोजमुमो तीनधारे महानदी समष्टिको अध्यक्ष ऐतमान राईले जानकारी दिएका छन्।