प्रेस क्लब अफ् सिक्किमले पालन गऱ्यो २२औं स्थापना दिवस

IMG-20240721-WA0248

पैसाविना पनि सम्मान कमाउन सकिन्छ भन्ने पत्रकारिता पेशाले उदाहरण दिएको छ: मुख्यमन्त्री

गान्तोक: प्रेस क्लब अफ् सिक्किमको २२औं स्थापना दिवस आज यहाँको मनन केन्द्रमा भव्यताको साथ पालन गरियो। यस अवसरमा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा कालेबुङ प्रेस क्लबका प्रतिनिधिहरू अनि राज्यभरिका पत्रकारहरूको उत्साहजनक भेला रहेको थियो। प्रेस क्लबले आफ्नो स्थापनाको दिन प्रतिवर्ष प्रदान गरिने कञ्चनजंघा कलम पुरस्कार यसपाली सम्मिट टाइम्सका कपि एडिटर सुवास राईलाई प्रदान गरियो। उनलाई प्रेस क्लबको पक्षबाट नगद ३१ हजार अनि मुख्यमन्त्रीको पक्षबाट रु. १ लाख १ हजार, अंगवस्त्र, प्रशस्ति पत्र प्रदान गरियो।

यसरी नै पत्रकारिता क्षेत्रमा लगभग तीन दशक सेवा पुऱ्याइसकेका वरिष्ठ पत्रकार कमल मुखियालाई दीर्घकालीन पत्रकारिता सम्मान अनि युवा पत्रकारद्वय सुबेन प्रधान र नितेश प्रधानलाई लगनशील युवा पत्रकार पुरस्कारद्वारा अलङ्कृत गरियो। दीर्घकालीन समयदेखि पत्रकारहरूको हितमा विविध पहल गर्दै आइरहेका बहुआयामिक व्यक्तित्वका धनी प्रसिद्ध वास्तुकार किरण रसाइली अनि पीआईबी गान्तोकका पत्रकार सौमेन मित्रलाई पनि सम्मान जनाइयो। मुख्य अतिथिको रूपमा उपस्थित मुख्यमन्त्री प्रेमसिंह तामाङको बाहुलीबाट सबैलाई अंगवस्त्र, प्रशस्ति पत्र अनि नगद राशिद्वारा सम्मान जनाइयो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री प्रेमसिंह तामाङले पत्रकारहरू समाजका आँखा, कान अनि मुख हुन् भन्ने विचार पोखे। उनले पुरस्कृत सबैलाई बधाई दिँदै यसले राज्यका युवाहरूलाई पत्रकारिताप्रति प्रोत्साहित गर्ने अपेक्षा गरे। पैसाबिना पनि इज्जत, नाम कमाउन सकिन्छ भन्ने ठोस् उदाहरण पत्रकारिता रहेको उल्लेख गर्दै आफ्नो परिवारको निम्ति भने धेरै चुनौतीपूर्ण रहने मुख्यमन्त्रीले विचार पोखे।

आज कञ्चनजंघा कलम पुरस्कारद्वारा अलङ्कृतलाई रु. १ लाख १ हजार अनि लगनशील युवा पुरस्कारद्वारा अलङ्कृतद्वयलाई रु. ५१-५१ हजार र दीर्घकालीन पत्रकारिता सम्मानद्वारा सम्मानितलाई रु. ३१ हजार मुख्यमन्त्रीको बाहुलीबाट थप प्रदान गरियो भने आउँदो वर्षदेखि सूचना एवं जनसम्पर्क विभागमार्फत यी नगद राशि निरन्तर रूपमा यस पुरस्कार प्रापकलाई प्रदान गर्ने मुख्यमन्त्री तामाङले घोषणा गरे। कञ्चनजंघा कलम पुरस्कारले अलङ्कृत पत्रकार सुवास राईले आफ्नो सम्बोधनमा उठान गरेका विषयलाई उल्लेख गर्दै मुख्यमन्त्री तामाङले पत्रकारहरूलाई परोक्ष रूपमा पेन्शन प्रदान गर्ने आफ्नो विचार पोखे। यसको निम्ति प्रेस क्लब अफ् सिक्किम अनि सूचना एवं जनसम्पर्क विभागले उचित मापदण्ड निर्धारण गरेपछि ती मापदण्डमा पर्ने पत्रकारहरूको निम्ति मुख्यमन्त्री विवेकाधीन कोषमार्फत प्रतिवर्ष अनुदान प्रदान गरेर सोहीमार्फत आईपीआर अनि प्रेस क्लबद्वारा पेन्शन प्रदान गर्नुपर्ने मुख्यमन्त्री तामाङले सम्बन्धित निकायलाई निर्देश दिएका छन्। यसरी नै पत्रकारहरूको स्वास्थ्य बीमाबारे मणिपाल अस्पतालसँग समन्वय बनाई बीमा गरिदिने मुख्यमन्त्रीले वचन दिएका छन्। योसँगै -मा एसकेएम सरकार आएपछि पत्रकारहरूले चाहेजस्तो वातावरण सिर्जना गरिएको स्मरण गर्दै पत्रकारहरूको सम्मानमा भवन, वाहन प्रदान गरिएको मुख्यमन्त्रीले स्मरण गराए। तथापि, यसको कागज-पत्रको प्रक्रियामा आधिकारिक ढिल्याईं भनेको कुरालाई उल्लेख गर्दै कतिपय अधिकारीहरूले समस्याको समाधान होइन असुविधा सिर्जना गर्ने गरेको तीतो अनुभव साझा गरे। मुख्यमन्त्री तामाङले सरकारी अधिकारीहरूले अब समस्या होइन उपाय खोज्नुपर्छ भन्ने स्पष्ट पारेका छन्। हरेक कुरा मुख्यमन्त्रीसमक्ष आइपुग्न अनिवार्य नरहने प्रष्ट पार्दै शक्ति विकेन्द्रीकरणको दिशातर्फ राज्य सरकारले पहल शुरु गरिसकेको उनले जानकारी गराए। यसबारेमा उनले राज्यवासीलाई पनि सोंचमा परिवर्तन ल्याउनुपर्ने आह्वान गरेका छन्।

समाजको चौथो स्तम्भद्वारा आयोजित यस कार्यक्रमको उपस्थितिलाई गम्भीरतापूर्वक लिँदै मुख्यमन्त्री तामाङले सिक्किमे समाज अझै स्वार्थी छ भन्ने झल्काएको मन्तव्य पोखे। आफूलाई पर्दा मीडिया हाउस चाहिने अनि मीडिया हाउसको कार्यक्रमको निम्तोमा उपस्थित नहुनुप्रति दुःख व्यक्त गर्दै उनले पत्रकारहरूले यस्ता कुरा हेक्कामा लिनुपर्ने सुझाउ दिए। उनले आफू आजको कार्यक्रममा औपचारिक रूपमा होइन पत्रकारहरूको सम्मान गर्दै उपस्थित भएको मन्तव्य पोखे।

प्रेस क्लबद्वारा आयोजित आजको कार्यक्रममा मन्त्रीगण, विधायकगण, सचिवगण लगायत विभिन्न राजनीतिक अनि सामाजिक संगठनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement