भद्रपुए: वरिष्ठ हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना भएका छन्। नाकबाट रगत बगेपछि आचार्य विराटनगर अस्पतालमा उपचारका लागि भर्ना भएका हुन्। विराटनगरको हिमगिरी हाइजिङको ब्राण्ड एम्बेस्डर बन्ने सहमतिपत्रमा हस्ताक्षर गर्न महजोडीद्वय मदनकृष्ण श्रेष्ठ र आचार्य शनिबार विराटनगर आएका थिए। हिजो विराटनगरमै बसेका आचार्य आज रविबार बिहान काठमांडू फर्कन लागेका थिए। आचार्यको अवस्था सामान्य भइसकेको हिमगिरी हाइजिङका डाइरेक्टर प्रकाश मुन्दडाले बताए। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की पनि आचार्यको स्वास्थ्य अवस्था बुझ्न अस्पताल पुगेका थिए। उनको अवस्था सामान्य रहेको आफूले पाएको मुख्यमन्त्री कार्कीले जानकारी दिए।