झापा: सूचना प्रविधि क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स(एआई) को सुरुआतसँगै देखिएको चुनौतीलाई मध्यनजर गर्दै सरकारले आफ्नो नीतिगत सुधार र व्यवस्थापन अघि बढाउने सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए। शुक्रबार कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का प्रतिनिधिसँग मन्त्रालयमा भएको छलफलमा मन्त्री गुरुङले एआईसम्बन्धी कार्यपत्र उपलब्ध गराउन अनुरोधसमेत गरेको विज्ञप्तिमा उल्लेख छ।
छलफलमा मन्त्री गुरुङले आफूले पदबहालीकै क्रममा डिजिटल नेपाल फ्रेमवर्कलाई परिमार्जन गरेर सूचना प्रविधिसम्बद्ध निकायको पुन: संरचना गर्न कार्यदल गठनको निर्णय लिएको जानकारी गराए। उनले क्यान महासंघलाई एआईको विषयमा कार्यपत्र लिएर आउन आग्रह गरेको महासंघले जनाएको छ। ‘एआईको विषयमा कार्यपत्र लिएर आउनोस्, आवश्यक नीतिगत कुरा गर्न सरकार तयार छ,’ मन्त्री गुरुङले भने।
भेटघाटकका क्रममा क्यान महासंघका अध्यक्ष रणजीतकुमार पोदारले सूचना प्रविधि क्षेत्रसम्बन्धी बजेटको प्रभावकारी कार्यान्वयनका विषयमा ध्यानाकर्षण गराउनुभयो। क्यान महासचिव चिरञ्जिवि अधिकारीले एआई, साइबर सुरक्षा र ब्लकचेन प्रविधि प्रयोगमा ल्याउन सुझाव दिएका छन्।
उनले देशको साइबर सुरक्षाको स्थिति कमजोर हुनुमा आवश्यक नीति तथा कार्ययोजनाको अभाव, सुरक्षामा कम लगानी र नयमित सुरक्षा परीक्षण नहुनु प्रमुख कारण रहेको अवगत गराए। उक्त अवसरमा मन्त्री गुरुङले सूचना प्रविधि क्षेत्रमा आएको क्रान्तिलाई देशको समृद्धिको आधार बनाउन सरकारले सबैको सहयोगको अपेक्षा गरेको बताएका थिए।









