बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा भड्किएको हिंसालाई नियन्त्रण गर्न सरकारले राष्ट्रव्यापी कर्फ्यु घोषणा गरेको छ। बंगलादेशमा आरक्षण विरोधी आन्दोलनका क्रममा भएको हिंसामा अहिलेसम्म ३५ जनाको मृत्यु भइसकेको छ। बंगलादेशमा सन् १९७१ को स्वतन्त्रता संग्राममा भाग लिने स्वतन्त्रता सेनानीका परिवारलाई सरकारी जागिरमा दिएको आरक्षणको विरोधमा विद्यार्थी र युवाहरूको आन्दोलन चलिरहेको छ। तर यो आन्दोलनले अहिले हिंसात्मक अडान लिएको छ। राजधानी ढाकालगायत धेरै शहरमा विगत केही दिनदेखि जारी हिंसालाई ध्यानमा राख्दै ठूलो मात्रामा सुरक्षा बल तैनाथ गरिएको छ। पुलिस र आन्दोलनकारीबीच धेरै ठाउँमा झडप भएको छ। तर शुक्रबार नरसिङदीको कारागारमा आक्रमण गरी सयौं कैदी रिहा भएपछि प्रधानमन्त्री कार्यालयले देशव्यापी कर्फ्यु घोषणा गरेको छ। सरकारका प्रेस सेक्रेटरी नइमुल इस्लाम खानले अब शान्ति सुरक्षा कायम गर्न सेना परिचालन गरिने बताए।










