गोरुबथान: गोर्खा गौरव संस्थान तथा स्वतन्त्र संयुक्त मञ्चको आयोजनामा आज गोरुवथान मालबस्तीको मल्टी प्रपोज हलमा एक जरुरी सभा सम्पन्न भयो। आजको यस सभामा सभाध्यक्ष भरतकुमार तामाङ थिए। अतिथिहरूमा क्रमैसँग ३६ नम्बर समष्टि सभासद पाल्देन तामाङ(स्वतन्त्र), गोर्खा गौरव संस्थानका संस्थापक नरेन्द्र तामाङ, स्वतन्त्र समूहबाट विक्रम सार्की, यसैगरी मार्लिन जुट लेप्चा पञ्चायत मेम्बर(स्वतन्त्र) डुङ्गाबस्ती, कुमारी क्षेत्री सिन्द्रेबुङ पञ्चायत मेम्बर(स्वतन्त्र), प्रशान्त अधिकारी लोलेजीपी(स्वतन्त्र), सुधिर घले गोर्खा गौरव संस्थान कोअर्डिनेटर रहेका थिए।आजको कार्यक्रम मनकुमार सुब्बाले सन्चालन गरेका थिए त्यसपछि सञ्चालन स्वतन्त्र समूहबाट विक्रम सार्की कोअर्डिनेटरले गरेका थिए। पहाडको वर्तमान स्थितिलाई हेर्दै र पहाडको खस्कन्दै गएको यो परिस्थितिलाई सुधार्नको निम्ति सबै एकजुट हुने आह्वान गर्दै नरेन्द्र तामाङले यसरी ठाउँ ठाउँमा गोर्खा गौरव संस्थानको तत्वधानमा सभा गरेको जानकारी गराए। यसरी सभा गर्दै गएर पछि एउटा दरिलो राजनीतिक पार्टीको धरातल गठन गरेको पनि उनले जानकारी गराए। पहाडको हालत सुधार्नको निम्ति एउटा दरिलो दूरदर्शी राजनैतिक पार्टीको आवश्यकता बोध गरेको हुँदा यसरी ठाउँ ठाउँमा सभा गर्दै आफुहरु हिँडेको पनि उनले जानकारी गराए।









