गान्तोक: राज्यपाल गंगा प्रसादले देशका प्रधानमन्त्रीको नेतृत्वमा भारत सरकारले ७६औं आजादीका अमृत महोत्सव-को ब्यानरमा स्वतन्त्रता दिवस मनाउने पहल गरेको छ र यसको उद्देश्य हाम्रो स्वतन्त्रता सङ्ग्रामको गौरव गाथाको उजागर गर्नु तथा ती परिचय बिहिन स्वतन्त्र सेनानीहरुको योगदानलाई प्रकाशमा ल्याउनु रहेको बताएका छन्। उनले देशको सेवाका निम्ति आफ्नो जीवन आहुति दिने ती गुमनाम बहादुर र निःस्वार्थ स्वतन्त्रता सेनानीहरूको बारेमा जान्न र उहाँहरूप्रति गहिरो सम्मान र श्रद्धाञ्जलि अर्पण गर्नु हाम्रो परम कर्तव्य हो भनी आफ्नो सन्देशमा बताएका छन्।
राज्यपालले आफ्नो सन्देशमा भनेका छन्, सिक्किमको स्थापना सन् १९७५ मा भारतीर संघद्वारा भएको थियो। हाम्रो राज्यले समाजका सबै क्षेत्रमा अभूतपूर्ण विकास देखेको छ। हामीले पर्यटन, स्वास्थ्य, शिक्षा, महिला अधिकार, कृषि र ग्रामीण विकासका क्षेत्रमा उच्च मापदण्ड कायम गरिरहेका छौं। यति छोटो अवधिमा सिक्किम आफैमा ब्राण्ड बनेको अनि भारतीर संघको अनुकरणीय राज़्यको रूपमा प्रतिष्ठित बनेको छ। केन्द्र सरकारको निरन्तर मार्गदर्शन र सहयोगका कारण यो उल्लेखनीय उपलब्धि सम्भव भएको हो।
सरकारले राज्यमा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता दिएको छ भन्दै उनले राज्य सरकारद्वारा स्वास्थ्यको क्षेत्रमा गरेका विभिन्न कार्यहरूको विस्तारपूर्वक जानकारी दिएका छन्। उनले अझ भनेका छन्, सरकारले समाजको सबैवर्गलाई सामेल गरेर गुणस्तरपूर्ण शिक्षा प्रदान गर्नुमा धेरै प्रगति गरेको छ। स्कूल शिक्षा अनि उच्च शिक्षामा नयाँ शिक्षा नीतिको बृहतरूपमा सञ्चालनको निम्ति नीतिगत निर्णय लिएका छौं। सिक्किम एड्हक नियमितीकरण नीति २०२१-को अधिसूचित गरिएको छ।
उनले कृषि क्षेत्र सधैं सरकारको प्राथमिकता रहेको बताएका छन्। उनले भनेका छन्, सरकारले कृषि अनि बागवानी फसलको उत्पादनलाई बढाउनुमा अनि कृषकलाई प्रोत्साहन दिनुको निम्ति चयनित फसलहरूमा उत्पादन प्रोत्साहन योजना लागू गरेको छ। राज्यमा केसर खेतीको सम्भावना देखेर मेरो अध्यक्षतामा कश्मीरबाट टोली बोलाएर दुई पल्ट बैठक राखियो। यस्तै प्रकारले राज्य सरकारले सिक्किमलाई कच्चा घर मुक्त बनाउन सिक्किम गरीब आवास रोजनाअन्तर्गत गरीबको निम्ति ३०५० वटा आवास निर्माणको कार्य पूरा गरिसकेको पनि उनले जानकारी दिएका छन्।
उनले अर्थव्यवस्था विकासको निम्ति सरकारले बितेको तीन वर्षमा पर्यटक पूर्वाधारको निर्माणमा सबैभन्दा सक्रिय निर्णय लिएको बताएका छन्। पर्यटन सँगसँगै औद्योगिक क्षेत्रमा धेरै निवेशकहरुलाई आकर्षित गराउन सरकारले नोभेम्बर-दिसम्बर २०२२ मा सिक्किम ग्लोबल इन्वेस्टमेन्ट काँन्फ्लुएन्स एण्ड विजिट सिक्किम २०२२-को पनि आयोजना गरिरहेको बताएका छन्। ग्रामीण विकासको मामिलामा पनि राज्यले धेरै प्रगति गरेको उनले आफ्नो सन्देशमा उल्लेख गरेका छन्।
उनले पुलिस वीरता पुरस्कार विजेताहरु, खेलाडी र अन्य उपलब्धि प्राप्त गर्ने व्यक्तिविशेषलाई बधाई दिएका छन्, जसले राज्यलाई गौरान्वित तुल्याएका छन्।