सिलगढी: सिलगढी महकुमा परिषदअन्तर्गत फाँसीदेवा ब्लकको पाईकपाडा क्षेत्रबाट एक व्यक्तिको झुण्डिएको शव फेला परेको छ। यस घटनाका कारण पुरै क्षेत्रमा सनसनी मच्चिएको छ। मृतकको नाम बोइला सोरेन (४०) बताइएको छ। उनी विधाननगरको पाईकपाडा क्षेत्रका बासिन्दा थिए। शुक्रबार राति उनी परिवारका सदस्यहरुसँग खाना खाएपछि कोठामा सुत्न गएको बताइएको छ। आज बिहान परिवारका सदस्यले घरबाहिर रुखमा झुण्डिएको अवस्थामा पुरुषको शव देखे। यो देखेर परिवारका सदस्यले तत्कालै ती युवकलाई तल ल्याई विधाननगर प्राथमिक स्वास्थ्य केन्द्रमा लगे। त्यहाँ ड्युटीमा रहेका डाक्टरले ती व्यक्तिलाई मृत घोषणा गरे। यो खबर पाएलगत्तै विधाननगर पुलिस चौकीबाट पुलिस घटनास्थल पुग्यो। पोस्टमार्टमको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइयो। सोरेनले किन आत्महत्या गरे भन्ने नबुझेको पारिवारिक स्रोतले जनाएको छ। घटनाका कारण सम्पूर्ण क्षेत्रमा शोक छाएको छ। विधाननगर पुलिस चौकीले घटनाको सम्पूर्ण अनुसन्धान थालेको छ।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




