चण्डीगढ़: भारतलाई टी२० वर्ल्ड कप २०२४-मा च्याम्पियन बनाउनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने युवा पेस बलर अर्शदीप सिंहले अहिलेसम्म टेस्ट क्रिकेट खेलेका छैनन् तर आउँदो दिनहरूमा मौका हासिल भए उनी खेलको सबैभन्दा लामो प्रारूपमा पनि आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्नेछन्। गत महिना सम्पन्न भएको टी२० वर्ल्ड कपमा अर्शदीप संयुक्त रूपले सर्वाधिक विकेट लिने बलर रहेका थिए। उनले भारतको निम्ति ८ वटा म्याचमा १२.६४-को औसत र ७.१६-को इकोनमी रेटले १७ विकेट लिएका थिए। यस सालको अन्तमा अष्ट्रेलियाविरुद्ध हुने बोर्डर-गावस्कर टेस्ट सीरीजमा भारतको निम्ति टेस्ट पदार्पण गर्ने सम्भावनाबारे अर्शदीपले भने, म सदा आफ्नो १०० प्रतिशत दिन चाहन्छु, त्यो चाहे कुनै पनि प्रारूप किन नहोस्। टेस्टमा पनि मौका पाए म आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्नेछु। साल २०२२-मा अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गर्ने अर्शदीपले ५२ वटा टी२०आई र ६ वटा वनडे म्याचमा देशको प्रतिनिधित्व गरेका छन्। उनले टी२०आई-मा ७९ विकेट लिएका छन्। यसरी ५० ओभरको प्रारूपमा पनि उनले १० विकेट लिएका छन्। एकजना खेलाड़ीको रुपमा अर्शदीप ती हरेक व्यक्तिबाट प्रेरणा लिन्छन् जसले आफ्नो क्षेत्रमा सर्वश्रेष्ठ काम गरिरहेका हुन्छन्। उनले भने, म हरेकबाट प्रेरणा लिन्छु त्यो चाहे दैनिक मजदूर होस् या कक्षामा टप गर्ने छात्र होस् या प्रोफेसर। अर्शदीपले देशका युवाहरूलाई सन्देश दिँदै भने, कुनै पनि क्षेत्रमा कठोर मेहनत गर्नु जरूरी हुन्छ। युवाहरूले आफ्नो सर्वश्रेष्ठ दिन जारी राख्नु पर्नेछ अनि आफूले गर्ने काममा नियन्त्रण हुनु पर्छ। कठोर मेहनतको फल अवश्यै प्राप्त हुन्छ।








