नयाँ दिल्ली: के तपाईंलाई ओलम्पिकमा पदक जित्ने एथलीटहरूलाई कुनै नगद पुरस्कार दिइँदैन भन्ने थाहा छ ? ओलम्पिकमा आयोजकहरूको तर्फबाट पदक जित्ने एथलीटहरूलाई पदकबाहेक अन्य कुनै आर्थिक पुरस्कार दिइँदैन। पदक जितेर आफ्नो देश पुगेपछि त्यहाँको सरकारद्वारा प्रदान गरिने नगद पुरस्कार नै एथलीटहरूका निम्ति आर्थिक पुरस्कार हुन्छ। स्पन्सर, राज्य सरकार र संस्थाहरूलाई छोड़ेर केवल विभिन्न देशहरूका केन्द्र सरकारको कुरा गर्दा भारत सरकारले अहिले स्वर्ण पदक जित्ने खेलाड़ीलाई रेकर्ड ८५ लाख रुपियाँ प्रदान गर्नेछ, जुन संयुक्त राज्य अमेरिकाले दिने नगद पुरस्कारभन्दा अधिक हो। ओलम्पिकको इतिहासमा सर्वाधिक पदक जित्ने देश अमेरिकाले अहिले स्वर्ण पदक विजेतालाई केवल ६१ लाख रुपियाँ दिन्छ। पदकको निम्ति सर्बिया सरकारले चाहिँ यसपाली नयाँ रेकर्ड बनाउन गइरहेको छ। सर्बियाई सरकारले यसपाली स्वर्ण पदक जित्ने खेलाड़ीलाई रेकर्ड २.१५ लाख डलर अर्थात १.७९ करोड़ रुपियाँ दिने घोषणा गरेको छ। यो ओलम्पिकको इतिहासमा कुनै एथलीटलाई उनीहरूका देशको सरकारद्वारा दिइने सर्वाधिक नगद पुरस्कार हो। सर्बिया मात्र नभएर मलेशिया र मोरक्कोले पनि स्वर्ण पदक विजेतालाई लगभग २ लाख डलर दिने घोषणा गरेको छ।
ओलम्पिकमा सर्बियाको रेकर्ड त्यति राम्रो छैन। यस देशले अहिलेसम्म जम्मा २४ वटा पदक जितेको छ। यसमा ६ वटा स्वर्ण, ७ वटा रजत र ११ वटा काँस्य पदक सामेल छ। सर्बियाले १९१२-मा भएको ओलम्पिकमा पहिलोपल्ट हिस्सा लिएको थियो। उनीहरूले आफ्नो पहिलो पदक २००८-को बेजिंग ओलम्पिकमा जितेका थिए। ओलम्पिकमा यस देशका एथलीटहरूको संख्यामा लगातार वृद्धि भए पनि पदकको संख्या चाहिँ बढ़्न सकेको छैन। सर्बियाका राष्ट्रपति एलेक्जेण्डर वुसिकले खेलहरूमाथि विशेष ध्यान दिएका छन्। उनले देशमा खेल संस्कृति बढ़ाउन यस्तो घोषणा गरेका छन्।
वर्तमान समयमा भारत सरकारको तर्फबाट स्वर्ण पदक विजेतालाई ७५ लाख, रजत पदक विजेतालाई ५० लाख अनि काँस्य पदक विजेतालाई ३० लाख रुपियाँ प्रदान गरिन्छ। यसलाई सोचेर भारतीय एथलीट्सहरू निराश हुने कुनै आवश्यकता छैन कारण राज्य सरकारहरूले यसभन्दा धेरै अधिक राशि दिने घोषणा गरिसकेको छ। हरियाणा सरकारले स्वर्ण पदक विजेतालाई ६ करोड़ रुपियाँ दिने घोषणा गरेको छ। पदक विजेता एथलीटहरू देशका अन्य धेरै समाजसेवी संस्थाहरूबाट पनि आर्थिक पुरस्कार हासिल गर्ने हकदार हुन्छन्। नीरज चोपड़ाले टोक्यो ओलम्पिकमा स्वर्ण पदक जितेपछि विभिन्न संस्थाहरू, राज्य सरकार र प्रतिष्ठित उद्योगपतिहरूबाट १० करोड़भन्दा अधिकको आर्थिक पुरस्कार पाएका थिए। यसरी ओलम्पिकमा सबैभन्दा सफल देश अमेरिकाले पेरिस खेलहरूमा स्वर्ण पदक विजेतालाई ३७,५०० डलर (लगभग ६१ लाख रुपियाँ), रजत पदक विजेतालाई २२,५०० डलर र काँस्य पदक विजेतालाई १५,००० डलर प्रदान गर्नेछ। साल १८९६-मा पहिलो आधुनिक ओलम्पिक खेलहरूमा पदक विजेताहरूलाई जैतुन (ओलिव)-को रुखको शाखा र एउटा पदक दिइन्थ्यो। यस पुरस्कारलाई पहिलोपल्ट मेसाचुसेट्सका ट्रिपल जम्प च्याम्पियन जेम्स बी कोनोलीलाई स्वीकार गरेका थिए।
ओलम्पिकमा जुन स्वर्ण पदकको निम्ति विश्वभरिका एथलीटहरूले कठोर मेहनत गरिरहेका हुन्छन् त्यसमा पूरा सुन हुँदैन। वास्तवमा १९१२-सम्म ओलम्पिकमा एथलीटहरूलाई पहिलो स्थान हासिल गर्दा विशुद्ध सुनको बनिएको पदक दिइन्थ्यो तर त्यसपछि चाँदीको पदकमा सुनको प्लेटिंग गरेर दिइन्छ। वर्तमान समयमा ८५ एमएम व्यास भएको पदकको मोटाई केवल ९.९२ एमएम हुन्छ। पदकको ओजन लगभग ५२९ ग्राम हुन्छ अनि यसमा केवल ६ ग्राम सुन प्रयोग गरिएको हुन्छ। यसबाहेक रजत र काँस्य पदकमा पनि अन्य ठोस धातुहरू रहेको हुन्छ।
भारत सरकारको तर्फबाट ओलम्पिकको निम्ति एथलीटहरूका तयारीहरूमाथि पनि करोड़ौं रुपियाँ खर्च गरिएको छ। टारगेट ओलम्पिक पोडियन स्कीम (टप्स)-अन्तर्गत धेरै भारतीय एथलीटहरूलाई प्रशिक्षणको निम्ति आर्थिक सहायता प्राप्त भयो। यसमा टोक्यो ओलम्पिकमा स्वर्ण पदक जित्ने ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ालाई मात्र केन्द्र सरकारले ५.७२ करोड़ रुपियाँको आर्थिक सहायता प्रदान गरेको छ। यसअन्तर्गत उनलाई वर्तमान विदेशी प्रशिक्षक डा. क्लास बार्टोनिट्जको सेवाहरू प्राप्त भइरहेको छ। यसबाहेक विदेशमा बस्ने, प्रशिक्षण गर्ने र प्रतियोगिताहरूमा हिस्सा लिने सुविधा पनि प्राप्त भइरहेको छ। पेरिस ओलम्पिकको तयारीहरूका निम्ति भारत सरकारले आफ्ना एथलीटहरूमाथि जम्मा ४७० करोड़ रुपियाँ खर्च गरेको छ।









