झापा: चितवनको सिमलतालमा पहिरोले बगाएर त्रिशूलीमा बेपत्ता भएका यात्रुको खोजीका लागि भारतीय टोली परिचालन हुने भएको छ। गएराति हिँडेको १२ सदस्यीय टोली अहिले रूपन्देही आइपुगेको छ। शनिबार नै घटनास्थल आइपुगेर टोलीले काम थाल्नेछ। विभिन्न उपकरणसहित आएको टोलीले नेपाली सुरक्षा संयन्त्रसँग समन्वय गर्दै खोजी कार्य सुरु गर्ने शसस्त्र प्रहरी बलका डिआईजी प्रवक्ता कुमार न्यौपानेले जानकारी दिए। नारायणगढ–मुग्लिन सडकको सिमलतालबाट त्रिशूलीमा हराएका दुईवटा बस अहिलेसम्म भेटिएका छैनन्। शवहरू भारतको सीमा क्षेत्रसम्ममा भेटिएका छन्।बेपत्ता भएका बस र नागरिकको खोजीका लागि नेपालले भारतको सहयोग मागेको थियो। सिमलतालमा जुलाई १२मा पहिरोमा परी त्रिशूली नदीमा दुईवटा बससँगै खसेका २५ जना यात्रुको शव भेटिएको छ। ३७ जना हराइरहेका छन्। गत शुक्रबार सिमलतालमा वीरगञ्जबाट काठमाडौँतर्फ आउँदै गरेको एञ्जल डिलक्स र काठमाडौँबाट रौतहटको गौरतर्फ जाँदै गरेको गणपति डिलक्सको बस पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका थिए। दुवै बसमा गरी ६५ यात्रु थिए। तीनजनाले पौडिएर ज्यान जोगाएका थिए।









