प्रमुख दुई दल मिलेर बनेको सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति लिने संकेत

IMG-20240720-WA0007
झापा:प्रमुख दुई दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गर्ने नीति लिने संकेत गरेको छ।  देशको आन्तरिक अर्थतन्त्रमा सुधार हुन नसकेर उद्योगी, व्यवसायीको मनोबल खस्किरहेको अवस्थामा प्रधानमन्त्रीदेखि अर्थमन्त्रीले निजी क्षेत्रलाई साथ लिएर अघि बढ्ने प्रतिवद्धता जनाएका छन्।

नयाँ सरकार गठनसँगै निजी क्षेत्रका समस्या र सरकारले लिनुपर्ने नीतिका बारेमा सुझाव दिन प्रधानमन्त्री, अर्थमन्त्री, उद्योगमन्त्रीलाई भेट्न गएको निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघका टोलीसँग प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निजी क्षेत्रको मनोबल बढाउँदै सँगै लिएर अघि बढ्ने बढाउँदै उद्योगी, व्यवसायीको मनोबल बढाउने गरी ढाडस दिए।

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रको मनोबल बढाउने र लगानी प्रोत्साहन हुने नीति सरकारले अवलम्बन गर्ने बताए। ओलीलाई बधाई दिन पुगेका नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको विस्तार विना विकास सम्भव नभएको बताए।

उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रको पनि विश्वास निर्माणमा सरकार केन्द्रित हुने बताएका छन । मन्त्री पौडेलले आर्थिक क्षेत्रका धेरै समस्या सम्बोधन गर्नुपर्ने भए पनि सबैभन्दा महत्त्वपूर्ण भनेको निजी क्षेत्रको विश्वास निर्माण गर्नुपर्ने धारणा राखे। मन्त्री पौडेलले डेडिकेटेड फिडर र ट्रंक लाइनको समस्या होस् वा निर्माण व्यवसायीको भुक्तानीमा भएको ढिलाइ सबै समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए। त्यसैगरी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई कुनै गुनासो लिएर सिंहदरबार आउनु नपर्ने वातावरण सिर्जना गर्ने बताए।
स्रोतका अनुसार मन्त्री भण्डारीले देशका व्यवसायी र उद्योगीले भोग्नुपरेको समस्याबारे आफूलाई जानकारी रहेको बताउँदै अर्थतन्त्रमा परेका समस्यालाई सम्बोधन गर्न आफूले सक्दो प्रयास गर्ने बताए। उनले उत्पादनमूलक गतिविधि बढाउन सहयोग गर्ने र त्यसका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना तर्जुमा गर्न मन्त्रालय लागिरहेको बताए। उनले उद्योगमैत्री नीति ल्याई उद्योगलाई सहज बनाउने बताए। मन्त्री भण्डारीले आफ्नो कार्यकालमा निजी क्षेत्रले लगानी गर्न ढुक्क हुने गरी मन्त्रालयमा संस्थागत सुधार गर्ने प्रयास गर्ने बताए।

देशको अर्थतन्त्रको सुधारका लागि निजी क्षेत्रको मनोबल बढाउनु आवश्यक रहेको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए। ‘देशको अर्थतन्त्रमा ८१ प्रतिशत र रोजगारीमा ८६ प्रतिशत हिस्सा रहेको छ,’ ढकालले प्रधानमन्त्री समक्ष भने , ‘निजी क्षेत्र विस्तारबाट मात्रै सुधार सम्भव छ।’

सर्वसाधारण र निजी क्षेत्रलाई दिइने सेवामा सुधार, उद्यमी व्यवसायीले मर्यादित रूपमा व्यवसाय गर्न पाउने वातावरणको सुनिश्चितता एवं नीतिगत र व्यवहारगत सुधारमार्फत लगानी अभिवृद्धि गर्न आवश्यक रहेको बताए। निजी क्षेत्रलाई मर्यादाक्रममा समावेश गर्ने लगायतका गैरमौद्रिक प्रोत्साहन सरकारले दिनुपर्ने ढकालले बताएl

अहिलेको अवस्थामा आम सर्वसाधारण, उद्यमी व्यवसायी र सरकार सबै समस्यामा रहेको स्मरण गराउँदै अध्यक्ष ढकालले बाह्य क्षेत्र सन्तुलित भएका कारण सुधार तत्काल सम्भव भएको बताए। निर्माण व्यवसायीको भुक्तानी र डेडिकेटेड फिडर एवं ट्रक लाइन सम्बन्धी विवाद तत्काल समाधान गरी व्यावसायिक वातावरण बनाउन आग्रह गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement