गान्तोक: राजधानीस्थित मनन केन्द्रमा आयोजित पाँच दिवसीय नर्थ इस्ट नेश्नल सर्विस स्किम फेस्टको आज समापन भयो। यस अवसरमा गान्तोक नगर निगमकी उप मेयर छिरिङ पाल्देन भोटिया मुख्य अतिथिकोरूपमा उपस्थित रहेकी थिइन्।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि भोटियाले यस प्रकारको कार्यक्रम आयोजना गरेकोमा एनएसएस र स्वयंसेवकहरूका प्रयासको प्रशंसा गरिन्। उनले सांस्कृतिक आदानप्रदानमा मात्र सीमित नभई युवाहरुबीच एकता र समाजमा सकारात्मक परिवर्तनको बीउ छर्ने यस पर्वको उद्देश्य रहेको बताइन्। यस प्रकारको कार्यक्रम निकट दिनहरूमा पनि आयोजना गर्ने र समृद्ध भविष्य ल्याउन यस कार्यक्रमले उदाहरण प्रस्तुत गर्न सक्ने मन्तव्य प्रकट गरिन्।
यसै क्रममा एनएसएसकी नोडल अधिकारी ललिता छेत्रीले सबैलाई खेलकुद र युवा मामिला विभाग, सिक्किम सरकारको तर्फबाट स्वागत जनाइन्। उनले एनएसएसको इतिहासबारे सबैलाई जानकारी गराइन्। उनले विगत चार दिनमा भएको विभिन्न प्रकारको गतिविधिहरूबारे पनि संक्षेपमा बताइन्।
उक्त कार्यक्रममा अरूणाचल प्रदेश, असम, मेघालय, मिजोरम, नागाल्याण्ड र सिक्किमका कलाकारहरूले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। संस्कृति प्रतियोगितामा असम प्रथम, सिक्किम दोस्रो र अरुणाचल प्रदेश तेस्रो भएको छ। कार्यक्रममा खेलकुद एवं युवा मामिला विभागकी सचिव योगीता राई, अतिरिक्त निदेशक डा. आरबी विश्वकर्म, सिक्किम ओलम्पिक एसोसिएशनका अध्यक्ष कुबेर भण्डारी आदि उपस्थित थिए।