दार्जिलिङ: शहीद कप्तान ब्रिजेस थापाको आज सैनिक सम्मानको साथमा अन्तिम संस्कार गरिएको छ। जम्मु कश्मीरको डोडा जिल्लामा आतंककारीसितको लडाईमा देश रक्षामा शहीद बनेका गोर्खा सपुत शहीद कप्तान ब्रिजेस थापाको पार्थिव शरीरलाई हिजो उनको पैतृक गाउँ दार्जिलिङको बड़ा गिङ्ग ल्याइएको थियो भने आज बिहान अन्तिम संस्कार गरिएको छ। आफ्नो पैतृक थलोमा गाउँलेहरू, आफन्तहरू, विभिन्न संघ संस्थाहरू साथै भूतपूर्व सैनिक संगठनको प्रतनिधिहरू लगायत भारतीय सेनाको जवानहरूले सैनिक सम्मानको साथमा शहीद कप्तान ब्रिजेस थापाको अन्तिम संस्कार गरिएको छ। शहीद कप्तान ब्रिजेस थापालाई उनको परिवार, आफान्तजन, गाउँलेहरू र अन्यहरूले अश्रुपूर्ण अन्तिम बिदाई दिएका छन्। शहीद कप्तान ब्रिजेस थापाको अन्तिम संस्कारको समयमा परिवारको पक्षमा पिता अवकाशप्राप्त कर्नल भुवनेशकुमार थापा, माता, बहिनी र अन्यहरू उपस्थित रहेका थिए।

त्यसरी नै जीटीए सभाको चेयरम्यान अञ्जुल चौहान, जीटीए पर्यटन विभागका कार्यकारी सभासद नोर्देन शेर्पा, बदामदाम गिङ्ग समष्टीको सभासद योगेन्द्र प्रधान लगायत कार्यकारी सभासद रतन थापा साथै अन्यहरू उपस्थित रहेका थिए। शहीदलाई श्रध्दाञ्जली अर्पण गर्नलाई गोजमुमो अध्यक्ष बिमल गुरुङ पनि गिङ्ग पुगेका थिए। आफ्नो छोराको अन्तिम बिदाईको समय पत्रकाहरूसित कुराकानी गर्दै शहीद कप्तान ब्रिजेस थापाको पिता अवकाशप्राप्त कर्नल भुवनेशकुमार थापाले आफ्नो छोराले देशको लागि बलिदान दिएको बताउँदै छोरा सानैदेखि देश सेवाको लागि आर्मीमा जान चाहान्थे अनि उनी देशको लागि शहीद भएर सबैको लागि उदाहरण बनेको बताएका छन्।

उनले आफ्नो छोराले देशको लागि दिएको बलिदानले छात्ती चौढा भएको र सबैको लागि एउटा असल उदाहरण बनेको र देशको लागि ज्यानको बलिदान दिएर भए पनि रक्षा गर्नुपर्छ भन्ने उदाहरण दिएर गएको बताएका छन्।