मिरिक: अब सरकारले पनि गोर्खा जातिको बलिदानको कदर गर्नुपर्छ। गोर्खा जवानहरूले देशलाई खाँचो परेको बेला चाहे कारगीलको लडाई होस् वा चाइनासँगको लडाई सबैमा आफ्नो ज्यानको बलिदान दिएको छ। उक्त कुरा गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष बिमल गुरूङले बिहीबार मिरिकमा पत्रकारहरूसँग कुराकानी गर्ने क्रममा भनेका हुन्। उनले जम्मु कश्मीरको डोडा जिल्लामा आतंकवादीहरूसँगको भीडन्तमा शहीद भएका दार्जीलिङको गिङ निवासी कप्तान ब्रिजेश गुरङको मृत्युमा शोक समवेदना प्रकट गर्दै गोजमुमो सधैं शहीद परिवारको साथमा रहने बताएका छन्। यसै सन्दर्भमा उनले जब जब देशलाई आवश्यक्ता पर्छ तब तब गोर्खा छोराहरूले आफ्नो बलिदान दिँदै आइरहेका छन्। तर अब देशले पनि गोर्खाहरूको बलिदानलाई सम्मान गर्नु सक्नु पर्ने कुरोमा जोर दिँदै यस विषयमा सरकारले पहल गर्नु पर्ने बताए। उनले सांकेतिक भाषामा गोर्खा जातिको मागलाई सरकारले पुरा गर्नु पर्ने माग पनि गरे।










