शहीद कप्तान ब्रिजेस थापाको पार्थिव शरीर पुग्यो पैतृक गाउँ दार्जिलिङको बड़ा गिङ्ग

IMG-20240718-WA0219

भोलि शुक्रबार सैनिक सम्मानको साथमा गरिने अन्तिम संस्कार

दार्जिलिङ: देशको लागि वीरगति प्राप्त गरेका गोर्खाली वीर सपुत शहीद कप्तान ब्रिजेस थापाको पार्थिव शरीर आज अपरान्हको समयमा उनको पैतृक गाउँ दार्जिलिङको बड़ा गिङ्ग पुगेको छ। बिहान सिलगढीबाट सैनिक सम्मानको साथमा लगिएको वीर सपुत कप्तान ब्रिजेस थापाको पार्थिव शरीर रोहिणी रोड हुँदै खरसाङ भएर लगिएको थियो। शहीद कप्तान ब्रिजेस थापाको पार्थिव शरीरलाई खरसाङ, सोनादा, जोरबंगलो, घुम, दार्जिलिङ लगायत विभिन्न स्थानहरूमा श्रध्दाञ्जली अर्पण गरिएको थियो। शहीद कप्तान ब्रिजेस थापाको पार्थिव शरीरलाई उनको पिता अवकाशप्राप्त कर्नल भुवनेशकुमार थापासहित माता र बहिनीको साथमा सैनिक सम्मानको साथमा दार्जिलिङको गिङ्ग चियाबारीमा रहेको घरमा पुराईएको छ। उनलाई भोलि गिङ्ग चियाबारीमा नै सैनिक सम्मानको साथमा अन्तिम संस्कार गरिने जानकारी प्राप्त भएको छ। देशको लागि बलिदान दिने वीर योद्धा शहीद कप्तान ब्रिजेस थापाको पार्थिव शरीर तिरंगामा लप्टिएर आफ्नो पैतृक गाउँमा पुगेका थिए। उनको पार्थिव शरीर गाउँ पुग्दा शहीद कप्तान ब्रिजेस थापालाई स्थानीय गाउँलेहरू साथै विभिन्न संघ संस्थाहरूका प्रतिनिधिहरू लगायत आफान्तहरू र छर छिमेकीहरूले श्रध्दाञ्जली अर्पण गरेका छन्। देश रक्षामा शहीद बनेका वीर गोर्खाली सपुत कप्तान ब्रिजेस थापालाई श्रद्धाञ्जली अर्पण गर्न मानिसहरू अघिबाटै भीडको साथमा भेला भएका थिए। उनको पैतृक गाउँस्थित घरमा पनि शहीद कप्तान ब्रिजेस थापालाई सैनिक सम्मानको साथमा श्रध्दाञ्जली अर्पण गरिएको जानकारी प्राप्त भएको छ। सिलगढीबाट दार्जिलिङको गिङ्ग चियाबारीसम्म पुग्दा ठाउँ ठाउँमा मानिसहरूले शहीद वीर योद्धा कप्तान ब्रिजेस थापालाई श्रध्दाञ्जली अर्पण गरेका थिए भने श्रध्दाञ्जली अर्पण गर्न भेला भएका मानिसहरू सबैको आँखामा आँशु देखिएको थियो। सबैले आफ्नो वीर सपुत कप्तान ब्रिजेस थापालाई अश्रुपूर्ण श्रध्दाञ्जली अर्पण गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement