झापा: मोरङको रंगेली नगरपालिका ३ का ५७ वर्षीय झयन्द्रकुमार अधिकारी मानब बेचबिखनको आरोपमा पक्राउ परेका छन। उनलाई मानव बेचबिखन ब्युरो काठमांडूको टोलीले बुधबार ललितपुर महानगरपालिका २४ बाट पक्राउ गरेको हो। उनले भिजिट भिसामा एक महिलालाई कुवेत पुर्याएर यौनशोषण गरेको आरोप छ।ब्युरोका डिएसपी गौतम मिश्रका अनुसार उनले एक महिलालाई दुबईको कम्पनीमा काम लगाइदिने भन्दै विश्वास दिलाएका थिए। उनले त्यहाँ रहेका अर्का व्यक्तिसँग मिलेमतो गरी मासिक ४० हजार तलब हुने भन्दै महिलाको अन्तर्वार्तासमेत लिएका थिए। लागत खर्च भनी अधिकारीले महिलाबाट दुई लाख नगद लिएका थिए।अधिकारीले सुरूमा भिजिट भिसामा महिलालाई २०२३ मई २९ मा दुबई पुर्याएका थिए। दुबईमा पुगेपछि अर्का व्यक्तिको जिम्मा लगाए। मिश्रका अनुसार ती व्यक्तिले आफू बस्ने फ्ल्याटमा महिलालाई पुर्याए। उनले ती महिलालाई घरेलु काममा लगाएर चरम यौनशोषण गरी गर्भपतन समेत गराएको खुलेको मिश्र बताउँछन्।त्यसपछि ती व्यक्तिले दुबईमा भन्दा कुवेतमा राम्रो तलब हुन्छ, अफिस क्लिनर हो भन्दै २०२४ अप्रिल १४ गते दुबईबाट कुवेत पुर्याएर अर्का एजेन्टको जिम्मा लगाए। त्यहाँ पुगेपछि ती एजेन्टले बन्धक बनाएर चरम यौन शोषण गरेको मिश्रले बताए। आफूमाथि शोषण सहन नसकेर ती महिलाले एजेन्टलाई नेपाल फर्काइदिन अनुरोध गरिन्। रकम बुझाउन भनेपछि उनले आफन्तमार्फत् ६ लाख ७५ हजार रुपैयाँ तिरेपछि ती एजेन्टले मुक्त गरिदिए। मिश्रका अनुसार त्यसपछि ती महिला २०२३ दिसंबर १७मा नेपाल फर्केर ब्युरोमा जाहेरी दिएकी थिइन्।