गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले प्रेस क्लब अफ् सिक्किम (पीसीएस) लाई २२औं स्थापना दिवसको अवसरमा हार्दिक बधाई एवं शुभकामना दिएका छन्।
मुख्यमन्त्रीले आफ्नो सन्देशमा पीसीएसका प्रत्येक सदस्यको समर्पण र लगनशीलताको सराहना गर्दै पत्रकारहरूको एकता, कडा परिश्रम र पत्रकारिताको अखण्डताप्रति दृढ़ प्रतिबद्धताले अरूका लागि ज्वलन्त उदाहरण प्रस्तुत गरेको बताएका छन्।
मुख्यमन्त्रीले भनेका छन्, पत्रकारिता हाम्रो समाजको एउटा महत्त्वपूर्ण स्तम्भ हो, जसले तृणमूल स्तरको जानकारी उच्च प्रतिष्ठानहरूसम्म पुऱ्याउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्दछ। पत्रकारहरूको लगनशील प्रयासले जनसाधारणको आवाजको सुनवाई तथा प्रशासनमा पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्छ।
उनले वर्तमान सरकार प्रेसको निम्ति स्वतन्त्र र निष्पक्ष वातावरण बनाउन प्रतिबद्ध रहेको बताएका छन्। उनले स्वतन्त्र प्रेसले लोकतन्त्रलाई दिगो बनाउन, जनतालाई जानकारी प्रदान गर्न र सामाजिक प्रगतिको प्रवर्द्धनमा खेल्ने महत्वपूर्ण भूमिकालाई मान्यता र महत्व दिन्छौं भनेका छन्। उनले पीसीएसको निरन्तर प्रगति र समाजमा महत्त्वपूर्ण योगदान जारी रहोस् भनी कामना पनि गरेका छन्।









