गान्तोक: राज्यमा आउने पर्यटक, स्थानीय यात्री साथै चालकहरूको सुविधालाई ध्यानमा राख्दै राज्य सरकारले सिक्किम क्याब एप्स-को शुभारम्भ गर्ने भएको छन। आगामी ३० जुलाईको दिन पालन गरिने चालक दिवसको अवसरमा यस एप्सको उदघाटन राज्यका मुख्यमन्त्रीले गर्ने यातायात विभागका अधिकारीहरूले जानकारी गराएका छन्। आज राजधानीस्थित यातायात भवनमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै आरटीओ रोशन प्रधानले उक्त कुरा बताएका हुन्। उल्लेखनीय छ, राज्यका चालकहरूले पर्यटकहरूलाई अधिक भाडा लिएको गुनासो धेरै आएको र यस विषयमा केन्द्रीय मन्त्रीले पनि सिक्किम सरकारसँग सम्पर्क गर्दै यसलाई नियन्त्रण गर्नुपर्ने सुझाउ दिएको थियो। यसरी धेरै सिकायत र गुनासोहरू आउन थालेपछि विभागले यसलाई गम्भीरतापूर्वक लिँदै यो सिक्किम क्याब एप्स शुरू गर्ने निर्णय लिएको उनले बताएका छन्। यो एप्स सबै चालक साथै यात्रीहरूले डाउन गरेको खण्डमा चालक साथै यात्रीहरूले पनि समस्या भोग्न नपर्ने विभागका अधिकारीहरूको सुझाउ रहेको छ। घरमा बसेर नै मानिसहरूले क्याब सही मूल्यमा रिजर्व गर्न पाउने यसको पनि प्रावधान रहेको छ भने अर्को कुरा चालकहरूले पनि यात्रीहरूको प्रतिक्षा गर्न नपर्ने र क्याबको माध्यमद्वारा सबै प्रकारको सूचना चालकहरूले पाउने छन्। सोही प्रकारले १५ वर्ष भन्दा पुरानो सरकारी वाहनहरू चल्न पाउने छैन्, तर यो नियम भने निजी वाहनहरूमा लागु हुने छैन्। विभागले दिएको आँकडा अनुसार हाल राज्यमा ६ सय सरकारी वाहनहरू १५ वर्ष भन्दा पुरानो रहेको छ। विभागका अधिकारीहरूले थप जानकारी गराए अनुसार अब सबै वाहनहरू रिजर्ब गर्दा अनलाइन बुकिङ गर्न सक्ने प्रावधान रहेको छ। यसरी नै ग्रामीण क्षेत्रका मानिसहरूको सुविधालाई ध्यानमा राख्दै सीएससी योजना शुरू गरिएको र यो केन्द्रबाट ग्रामीण क्षेत्रका मानिसहरूले पनि लाभ उठाउन सक्ने विभागका अधिकारीहरूको भनाइ रहेको छ। यस अवसरमा यातायात विभागका सल्लाहकार एवम विधायत मदन सिञ्चुरी लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो। यसरी नै लर्नर लाइनसेन्स प्राप्त गर्नको निम्ति अब विभागको कार्यालय आउन आवश्यक नरहेको र घरबाट नै अनलाईन बसेर लाइसेन्स प्राप्त गर्न सकिने सुविधा विभागले शुरू गरेको छ। अब राज्यमा घुम्न आउने कुनै पनि पर्यटकहरू ठगीको शिकार बन्न नपर्ने र वाहनको भाडा सरकारी नियम अनुसार अनलाइनबाट थाह पाउने भएको छ।









