गान्तोक: सिक्किम राज्यमा बढ्दो साइबर क्राइमलाई लिएर सिक्किम पुलिसले चिन्ता व्यक्त गरेको छ। विगतका केही दिनहरूमा राज्यका मानिसहरूले करौडो रूपियाँ प्रलोभनका कारण गुमाएको घटना प्रकाशमा आएको छ।
राज्यका मानिसहरूलाई अनलाईन साथै पैसाको प्रलोभनबारे सचेत गराउने उद्देश्यले जिल्ला पुलिसले मिडियासँग एकता कायम राख्दै अभियान चलाउने घोषणा गरेको छ।
यसै क्रममा वरिष्ठ पुलिस अधीक्षक तेञ्जिङ लोडेन लेप्चाले आज एक पत्रकार सम्मेलनमा राज्यमा विगतमा भएका घटनाक्रमहरूलाई लिएर जानकारी गराए। राज्यमा घटेका साइबर क्राइमका केही घटनामा संलग्न आरोपीहरूलाई पक्राउ गर्न सफल बने तापनि राज्यका मानिसहरू यसबारेमा सचेत नभएसम्म यस प्रकारको घटना निरन्तर चल्ने उनले बताए। उनले राज्यका मानिसहरूलाई प्रलोभनमा नफँस्न आग्रह गरेका छन्।
वरिष्ठ पुलिस अधीक्षक लेप्चाले थप जानकारी गराए अनुसार, विशेष गरेर यस घटनामा संलग्न आरोपीहरूले म्यासेन्जर एप्लिकेसनमा प्रलोभन देखाउने गरेको हुनाले राज्यका कतिपय मानिसहरू यसको शिकार बनेका छन्। यस प्रकारको घटना विशेष गरेर साइबर क्राइमका मास्टर माइन्डहरूले कसैको आधार कार्ड प्रयोग गरेर ठग्ने गरेको उनले दावी गरे। राज्यमा साइबर क्राइमको शिकार हुनेहरू संख्या धेरै रहेको बताउँदै यदि कसैलाई पनि साइबर क्राइमको शिकार हुँदैछु भन्ने महसुस भए शीघ्र पुलिस थानामा पुगेर सम्पर्क गर्न उनले अपील गरेका छन्।