सिलगढी: १३ जुलाईमा विनेसामको १५औँ स्थापना दिवस तथा भानुजयन्ती भव्य भर्चुअल कार्यक्रममा सम्पन्न भयो। विश्वका विभिन्न देशका लब्धप्रतिष्ठित व्यक्तित्वहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रमका अधिकांश वक्ताहरूले भनुभक्तको योगदानको प्रशंसा गरे। कार्यक्रममा नेपाली साहित्यका सुदूर साधक शिखर व्यक्तित्व ६६ वर्षदेखि लगातार रूपमा त्रिभुवन विश्वविद्यालयमा बसाइँ उपन्यास मार्फत पढिदै आएका पद्मश्री लीलबहादुर छेत्री प्रमुख अतिथिको रूपमा उपस्थित थिए। उनले आफ्नो मन्तव्यमा विश्व नेपाली साहित्य महासंघको साहित्यिक कार्यको प्रशंसा गर्दै भारतमा भानुजयन्ती मनाउने परम्परा स्थापित गर्नमा आफ्नो पनि महत्वपूर्ण भूमिका रहेको स्मरण गरे। महासंघका आजीवन सदस्यहरूको पनि बाक्लो उपस्थिति रहेको थियो। महासंघको वरिष्ठ उपाध्यक्ष डा. लेखनाथ काफ्लेको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन केन्द्रीय सदस्य देविका मंग्राती राईले सिलगढी भारतबाट गरेकी थिइन्। प्रविधिमा महासंघका उपाध्यक्ष डेन्जोम साम्पाङ अमेरिका र सचिव डा. मनमूर्ति भुर्तेल रसिया रहेका थिए। कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै आफ्नो सारगर्भित मन्तव्य र सृजनाका साथ कार्यक्रमको सभापति तथा विश्व नेपाली साहित्य महासंघ, विश्व केन्द्रीय समितिका अध्यक्ष सुरेन्द्र लिम्बू परदेशीले कार्यक्रमको समापन गरे।