लण्डन: स्पेनका युवा नक्षत्र कार्लोस अल्काराजले लगातार दोस्रोपल्ट विम्बल्डन टेनिस च्याम्पियनशीपमा पुरुष एकलको खिताब जिते। तेस्रो वरीयता प्राप्त गत विजेता अल्काराजले सर्बियाका दिग्गज खेलाड़ी नोवाक जोकोविचलाई सीधा सेटमा पराजित गरी खिताब जिते। यो उनको करियरको चौथो ग्राण्ड स्ल्याम खिताब हो। यसरी विम्बल्डनमा उनले आफ्नो खिताब सफलतापूर्वक बचाए। आइतवार राति खेलिएको फाइनलमा अल्काराजले पूर्व नम्बर एक खेलाड़ी जोकोविचलाई सीधा सेटमा ६-२, ६-२, ७-६ (७-४)-ले पराजित गरे। रेकर्ड २४ पल्टका ग्राण्ड स्ल्याम विजेता सर्बियाका ३६ वर्षीय अनुभवी खेलाड़ीसँग गत वर्षको हारको हिसाब चुक्ता गर्ने असल मौका थियो तर फाइनलमा उनको कुनै शीप चलेन अनि अल्काराजले यस प्रतिष्ठित ग्राण्ड स्ल्यामको खिताब जिते।
अल्काराज र जोकोविचबीच खेलिएको फाइनल म्याच २ घण्टा २७ मिनटसम्म चल्यो। स्पेनका खेलाड़ीले शुरुदेखि नै म्याचलाई आफ्नो नियन्त्रणमा राखे। उनलाई म्याचको पहिलो दुईवटा सेट जित्न कुनै असुविधा भएन। त्यसपछि तेस्रो सेटमा चाहिँ जोकोविचले उनलाई कड़ा चुनौती दिए। फाइनलको तेस्रो सेट निक्कै रोमाञ्चक रह्यो। एक समय अल्काराज ५-४-ले अघि रहेका थिए तर जोकोविचले चाँड़ै स्कोर ६-६-को बराबरीमा पुऱ्याउँदा टाई ब्रेकर शुरु भयो। टाई ब्रेकरमा अल्काराजले फेरि एकपल्ट आफ्नो चमत्कारी खेल देखाए अनि ७-६-ले तेस्रो सेटसहित म्याच र खिताब आफ्नो नाम गरे। सर्बियाई खेलाड़ीको निम्ति स्पेनका यस युवा प्रतिभालाई पराजित गर्न सजिलो नहुने तय थियो। अल्काराजले आफ्नो करियरमा अहिलेसम्म ४ वटा ग्राण्ड स्ल्याम फाइनल खेलेका छन् अनि उनले अहिलेसम्म हारको सामना गर्नु परेको छैन। २१ वर्षीय अल्काराज तीनैवटा सतह (ग्रास कोर्ट, क्ले कोर्ट र हार्ड कोर्ट)-मा ग्राण्ड स्ल्याम खिताब जित्ने सबैभन्दा युवा खेलाड़ी हुन्। उनले आफ्नो पहिलो ग्राण्ड स्ल्याम खिताब २०२२-मा यूएस ओपनको रूपमा जितेका थिए। त्यसपछि उनले गत वर्ष विम्बल्डन र यस साल फ्रेञ्च ओपनको खिताब जितेका थिए।