अखिल सिक्किम सरकारी चालक सङ्घले पालन गऱ्यो रजय जयन्ती २ सय भन्दा अधिक अवकाशप्राप्त चालकहरू अभिनन्दित

IMG-20240714-WA0286

गान्तोक: सिक्किमका सरकारी चालकहरूको सङ्गठन अखिल सिक्किम सरकारी चालक सङ्घले आज आफ्नो स्थापनाको २५औं वर्षगाँठ तथा रजत जयन्ती पालन गऱ्यो। स्थानीय मनन केन्द्रमा आयोजित कार्यक्रममा सिक्किम सरकारका पूर्व परिवहन मन्त्री तथा वर्तमानमा त्यसै विभागका सल्लाहकार एवं विधायक सञ्जित खरेल मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए। यस अवसरमा सङ्घले राज्यभरिका २ सय भन्दा अधिक अवकाशप्राप्त चालकहरूलाई अभिनन्दन जनायो।

अखिल सिक्किम सरकारी चालक सङ्घको यस विशेष कार्यक्रममा अल इण्डिया गभर्मेन्ट ड्राइभर्स कन्फेडरेशनसाथै पूर्वोत्तर क्षेत्रीय सरकारी चालक सङ्घ, विभिन्न राज्यका सरकारी चालक सङ्घ साथै सिक्किमका विभिन्न चालक सङ्घका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो। यसरी नै यस अवसरमा सिक्किम सरकारका कृषि मन्त्री पुरण कुमार गुरुङ, सड़क एवं पुल मन्त्री एमबी दाहाल, गान्तोकका विधायक दिले नामग्यल बर्फुङ्गपा, अप्पर बुर्तुकका विधायक श्रीमती कला राई र रिञ्चेनपोङ्गका विधायक इरुङ लेप्चाको पनि उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य अतिथि सञ्जित खरेलले राम्रो कार्यक्रम आयोजना गरेकोमा अखिल सिक्किम सरकारी चालक सङ्घलाई बधाई दिए। सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकार आउमा चालकहरूको महत्वपूर्ण भूमिका रहेको बताउँदै ८० प्रतिशत चालकहरूले आफूहरूलाई साथ दिएको बताए। त्यसैले हामीले चालकहरूको योगदान भुल्नु हुँदैन, उनले भने। यसको साथै राज्य सरकारले चालकहरूलाई धेरै सम्मान दिएको पनि खरेलले थप बताए। हाम्रो सरकारले चालकलाई सम्मान दिएको छ। शिक्षा, स्वास्थ्य र सहुलियतमा छुट्टै भागबन्डा दिएको छ, उनले भने। आफ्नो सम्बोधनको क्रममा सञ्जित खरेलले चालक भवनको निम्ति लुम्सेमा जमीन चिन्हित गरिएको जसबारे भोलि मुख्यमन्त्री प्रेम सिंह तामाङ समक्ष राख्ने जानकारी पनि गराए। हामी चालकहरूलाई सदैव खुशी राख्ने काम गर्नेछौं, उनले थप भने।

कार्यक्रमलाई अखिल सिक्किम सरकारी चालक सङ्घका अध्यक्ष छोपेल दोर्जी भोटिया र महासचिव प्रदीप गौतमले पनि सम्बोधन गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement