गान्तोकको मनन केन्द्रमा पालन गरियो राज्यस्तरीय भानु जयन्ती समारोह

IMG-20240713-WA0287

गान्तोक: नेपाली साहित्य परिषदको तत्वावधानमा राजधानीस्थित मनन केन्द्रमा भव्यताका साथ २१०औं भानु जयन्ती पालन गरियो। यस कार्यक्रममा प्रमुख अतिथिको रुपमा सिक्किम सरकारका ग्रामीण विकास विभाग र निगम विभागीय मन्त्री अरुण उप्रेती रहेका थिए साथै गान्तोक निर्वाचन क्षेत्रका विधायक एवं आयोजक समितिका अध्यक्ष दिले नामग्याल बर्फुङ्पा विशिष्ट अतिथिको रुपमा उपस्थित रहेका थिए। आज आयोजित कार्यक्रमको प्रमुख आकर्षण विभिन्न क्षेत्रमा योगदान पुऱ्याउँदै आएका व्यक्तिहरुलाई सम्मान जनाइयो। यस वर्षको भानु पुरस्कार भाषा र साहित्यको सेवामा लामो समयदेखि योगदान दिँदै आएका डा. शोभा कान्ति थेगिम मेमोरियल ट्रस्टका संस्थापक डुप छिरिङ लेप्चालाई प्रदान गरियो। यसैगरी भाषा गौरव सम्मान भोटिया भाषाका ज्ञाता कर्मा लोब्जाङ भोटिया अनि लेप्चा भाषाका ज्ञाता दावा छिरिङ लेप्चालाई प्रदान गरियो। यसरी वर्ष २०२४ को सेवाश्री सम्मान विभिन्न विधामा योगदान पुऱ्याउने ९ जना व्यक्तित्वहरुलाई प्रदान गरियो ।सम्मानित हुने व्यक्तिहरुमा भाषा सेवाश्री सम्मान भाष्कर पौड्याल, साहित्य सेवाश्री सम्मान उद्धव गोपाल श्रेष्ठ, सङ्गीत सेवाश्री सम्मान धनकुमार गुरुङ, नाट्य सेवाश्री सम्मान डा. भरत वशिष्ठ, पत्रकारिता सम्मान नन्दु दुतराज, नृ्त्य सेवाश्री सम्मान क्रमैले गायत्री राई, कला भोटिया ममता सिंहलाई प्रदान गरियो।

यस समरोहमा नेपाली साहित्यद्वारा प्रकाशित पुस्तक भानु स्मारिकाको लोकार्पण गरियो साथै टंका ढुङ्गेलकृत सृष्टिका फुलहरु, पुष्प शर्माको पुष्पहार, इश्वरी प्रसाद माझीको सिक्किम माझी परिवार इतिहास अनि चिन्हारी , मनिता तामाङद्वारा सम्पादित साहित्यिक पत्रिका जमाना, टिका ढुङ्गेलको समालोचना यी पुस्तकहरु उपस्थित अतिथिहरुको बाहुलीबाट विमोचन गरियो।

भानु पुरस्कार प्रापक डुप छिरिङ लेप्चाले आफ्नो सम्बोधनको क्रममा आफुलाई यो गौरवशाली पुरस्कार प्रदान गरेकोमा परिषदप्रति कृतज्ञता प्रकट गरे। आफू बाचुञ्जेल भाषा र साहित्यको सेवा गर्ने उनले प्रतिवद्धता जाहेर गरे। कार्यक्रममा राज्यका मुख्यमन्त्रीलाई सम्झना गर्दै उनको आशिर्वाद सबै क्षेत्रमा सिक्किमका मानिसहरुलाई सधैं नै चाहिने मन्तव्य पोखे। उनले आफ्नी दिवंगत पत्नी डा. शोभाकान्ति थेगिमलाई सम्झना गर्दै स्वर्गीय थेगिम जहिले सिक्किमको साहित्यिक स्तरबारे चिन्तित रहने गरेको र उनको निधनपछि उनको सपना पुरा गर्नहेतु नै शोभाकान्ति मेमोरियल ट्रस्टको शुरुआत गरेको अवगत गराए।

प्रमुख अतिथिको आसनबाट आफ्नो सम्बोधनको क्रममा मन्त्री अरुण उप्रेतीले सबैलई २१०ओैं भानु जयन्तीको शुभकामना टक्राए साथै आज पुरस्कृत सम्पूर्ण व्यक्तित्वहरुलाई बधाई दिए। भानुभक्तबिना नेपाली साहित्यको इतिहास अधुरो रहने उनले बताए। भानुभक्तले समाजमा एकता, सुधारको भावना जगाएको कुरा बताउँदै उनले प्रदान गरेको शिक्षा र देखाएको मार्गलाई आत्मसात गरेर अघि बढनु पर्ने मन्तव्य प्रकट गरे।

कार्यक्रममा अन्तर विद्यालय साथै खुल्ला स्तरका रामायण पाठ प्रतियोगितमा प्रथम हुने मोडर्न उच्चतर माध्यमिक विध्यालयका विद्यार्थीहरु साथै प्रणिता शर्माले रामायण पाठ प्रस्तुत गरेका थिए।यसरी नै कविता वाचन प्रतियोगितामा अन्तर विद्यालय तहका विजेता सर टासी नामग्याल वरिष्ठ मध्यमिक विद्यालयका छात्र पासङ छिरिङ तामाङ साथै खुल्ला स्तरकी विजेता सोरेङ निवासी बबिता खलिङले मीठा कविताहरु प्रस्तुत गरेका थिए। यसरी विभिन्न नृत्य साथै गायन प्रशिक्षण केन्द्रका कलाकारहरुले रंगारंग कार्यक्रमहरु प्रदर्शन गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement