आदिकवि भानुभक्त आचार्यले जनसाधारणलाई एकताको सूत्रमा बाँध्ने काम गरेका छन्: राज्यपाल

IMG-20240713-WA0288

गान्तोक: राजधानी गान्तोकमा नेपाली साहित्य परिषद, सिक्किमद्वारा आयोजित २१०औं भानु जयन्ती समारोह २०२४ को आरम्भ सधैं जस्तै बिहान स्थानीय जीरो पोइन्टस्थित भानु उद्यानमा प्रथम चरणका मुख्य अतिथि राज्यपाल लक्ष्मण प्रसाद आचार्यद्वारा आदि कवि भानुभक्त आचार्यको प्रतिमामा माला अनि श्रद्धाञ्जली अर्पणबाट भयो। यस अवसरमा सिक्किम सरकारका विभिन्न विभागका मन्त्री अनि विधायकहरू साथै नागरिक समाजका विभिन्न तह र तप्काका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

आफ्नो सम्बोधनमा राज्यपाल लक्ष्मण प्रसाद आचार्यले भाषा कुनै पनि संस्कृतिको महत्वपूर्ण हिस्सा हो भन्दै भाषाले नै कुनै पनि समाजको रीतिरिवाज, मूल्य, र धारणाहरूलाई अभिव्यक्त गर्ने बताए। उनले भने, “जब भाषा जीवित रहन्छ र यसको विकास हुन्छ, तब त्यससँग सम्बन्धित संस्कृति पनि जीवन्त रहन्छ। भाषा नै हो जसले संस्कृतिलाई एउटा पुस्तादेखि अर्को पुस्तामा स्थानान्तरण गर्छ, त्यसैले भाषा विकासले संस्कृति र परम्पराहरूलाई पनि जीवित राख मद्दत गर्छ।” राज्यपालले आदि कवि भानुभक्त आचार्यलाई समपूर्ण विश्वभरी छरिएर बसेका नेपाली भाषीहरूका निम्ति साहित्यको प्रेरणाको स्रोत बताए। भानुभक्त आचार्यले नेपाली भाषालाई समृद्ध बनाउनुको साथै नेपाली जातिलाई एकताको सूत्रमा बाँध्ने काम पनि गरेको उनले थप बताए। “उनले लोकको हितमा वाल्मीकिकृत रामायणको अनुवाद नेपाली भाषामा साधारण मानिसहरूलाई सजिलै बुझ सक्ने गरी प्रस्तुत गरे। यसले नेपाली भाषा र साहित्यको विकासमा महत्वपूर्ण योगदान पुऱ्यायो र समाजलाई एकताको सूत्रमा बाँधे महत्वपूर्ण कार्य भयो जसले मानिसहरूलाई अध्ययनतर्फ आकर्षित गरेको सर्वविदित छ। उनको यो अनुपम योगदान भाषाप्रतिको प्रेम आदर सम्मान र समर्पणको प्रतीक हो”, उनले भने।

परम्परालाई अक्षुण्ण राख्दै साहित्यिक एवं सांस्कृतिक पर्व भानुजयन्तीलाई यस वर्ष “हाम्रो एकता हाम्रो समृद्धिको” रूपमा पालन गरी भाषालाई जीवन्त राखेकोमा राज्यपाल लक्ष्मण प्रसादले नेपाली साहित्य परिषद, सिक्किम प्रति आभार व्यक्त गरे। यस प्रकारको आयोजनाले भाषा अनि संस्कृतिको संरक्षण र सम्वर्धन हुने उनले बताए। राज्यपालले आफ्नो सम्बोधनमा भानुभक्त आचार्यको केही पंक्ती पनि वाचन गरे। यस अघि गान्तोकमा आयोजना गरिएको वर्ष २०२४को भानुजयन्ती समारोहका मुख्य संरक्षक तथा गान्तोकका विधायक दिले नामग्यल बर्फुङ्गपाले स्वागत सम्बोधन राखेका थिए।

प्रथम चरणको कार्यक्रममा मुख्य अनि विशिष्ट अतिथिहरूद्वारा भानुभक्त आचार्यको प्रतिमामा श्रद्धाञ्जली अर्पणपछि परम्परागत रुपमा भानु उद्यानबाट नै विराट शोभायात्रा आरम्भ गरियो। विभिन्न सङ्घ संस्थान अनि विद्यालयहरूद्वारा सहभागिता जनाइएको शोभा यात्रा जीरो पोइन्ट, भानुपथ, तिप्पत पथ, एमजी नार्ग, राष्ट्रिय राजमार्ग १०, हस्पिटल डाँड़ा हुँदै दोस्रो चरणको कार्यक्रमस्थल मनन केन्द्र पुगेर विसर्जन भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement