झापा: धरानबाट अवैध लागूऔषधसहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय धरानले विशेष सूचनाको आधारमा अवैध लागूऔषध र नियन्त्रित औषधीसहित प्रहरीले पाँच जनालाई पक्राउ गरेको हो। प्रहरी टोलीले धरान १९ का १७ वर्षीया एक किशोरीको कोठामा लुकाएर राखेको ड्रमाडोल १४ हजार ९ सय १ क्याप्सुल, स्पाज्मोल ७ हजार ४९६ ट्याप्लेट र कोलीबान एक हजार १५५ ट्याप्लेटसहितको अवैध लागूऔषध तथा नियन्त्रित औषधी प्रहरीले बरामद गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कानुनी प्रक्रिया पूरा गरी चेकजाँच गर्दा अवैध लागूऔषधसहित नगद ७६ हजार रुपियाँ फेला पारी कानुन बमोजिम बरामद गरिएको हो। कोठाबाट एक जना १७ वर्षीया किशोरी, धरान उपमहानगरपालिका ४ का २६ वर्षीय मदन राई, सो ठाउँका १९ वर्षीय सचिन राई, धनकुटा नगरपालिका वडा नम्बर ३ कागतेका ४५ वर्षीय चन्द्रध्वज राई र भारतीय नागरिक अररिया ईन्द्रनगर वॉर्ड नम्बर ९ जोगवनीका २८ वर्षीय रविकुमार सिंहलाई नियन्त्रणमा लिएको प्रहरीको भनाइ छ।