लण्डन: बारबोरा क्रेजिसिकोवाले शनिवार राति खेलिएको फाइनलमा जेस्मिन पाओलिनीलाई ६-२, २-६, ६-४-ले पराजित गरी सालको तेस्रो ग्राण्ड स्ल्याम विम्बल्डन २०२४-मा महिला एकलको खिताब जितिन्। क्रेजिसिकोवा ओपन ऐरामा विम्बल्डनमा महिला एकलको खिताब जित्ने चेक गणराज्यकी चौथो टेनिस खेलाड़ी हुन्। यसअघि क्रेजिसिकोवाकी एक समयको मेण्टर याना नोवोत्ना, पेट्रा क्वितोवा र गत सालकी च्याम्पियन मार्केटा वोन्द्रोसोवाले यस प्रतिष्ठित टुर्नामेण्टमा खिताब जितेकी थिइन्। क्रेजिसिकोवा अहिले एकल र युगल दुवैमा विम्बल्डन च्याम्पियन बनेकी छन्। पाओलिनीसँग एकल ग्राण्ड स्ल्याम खिताब जित्ने इटलीको पहिलो पुरुष या महिला खेलाड़ी बन्ने मौका थियो तर यस्तो हुन सकेन। यसअघि उनी फ्रेञ्च ओपनको फाइनलमा पनि विश्वकी नम्बर एक खेलाड़ी इगा स्वियातेकविरुद्ध पराजित भएकी थिइन्। यसपाली विम्बल्डनमा खिताब जित्न नसके पनि क्रेजिसिकोवालाई कड़ा चुनौती चाहिँ अवश्यै दिइन्। पाओलिनी विम्बल्डनको फाइनलमा पुग्ने इटलीकी पहिलो महिला खेलाड़ी हुन्।
फाइनल एक घण्टा र ५६ मिनटसम्म चल्यो अनि क्रेजिसिकोवाले पहिलो सेट सजिलै जितिन्। त्यसपछि पाओलिनीले पनि असाधारण पुनरागमन गर्दै दोस्रो सेटमा उत्कृष्ट प्रदर्शनको साथ म्याचलाई निर्णायक सेटसम्म पुऱ्याइन्। तेस्रो तथा निर्णायक सेटमा क्रेजिसिकोवाले ख्याति अनुरुप प्रदर्शन गर्दै म्याच र खिताब जितिन्। क्रेजिसिकोवाको यो दोस्रो ग्राण्ड स्ल्याम खिताब हो। यसअघि उनले २०२१-मा फ्रेञ्च ओपनको खिताब जितेकी थिइन्।