सिलगढ़ी: सिलगढ़ी महकुमा क्रीड़ा परिषद (एसएमकेपी)-द्वारा आयोजित फर्ष्ट डीविजन फूटबल लीगमा तरुण तीर्थ च्याम्पियन भयो। विभिन्न कारणहरूले गर्दा धेरै लामो तन्किएको यस लीगको फाइनल पनि रोमाञ्चक र विवादले भरिएको रह्यो। कञ्चनजंघा स्टेडियममा कृत्रिम प्रकाशमा खेलिएको फाइनलमा रविन्द्र संघ १-० गोलले अघि रहे पनि अन्तमा तरुण तीर्थ च्याम्पियन भयो। म्याचमा सुब्रतो सोरेनले ३३औं मिनटमा फ्री किकबाट गरेको दर्शनीय गोलको सहायताले रविन्द्र संघ लगभग अन्तसम्म पनि १-०-ले अघि रहेको थियो। नियमित ९० मिनटको खेलमा पनि स्कोर १-० नै रहेको थियो तर इञ्ज्युरी टाइमको दोस्रो मिनटमा विपक्षी टीमका फरवर्ड खेलाड़ीलाई रविन्द्र संघका गोलकीपरले डी एरियाभित्र लड़ाउँदा रेफरीले तरुण तीर्थलाई पेनल्टी प्रदान गरे। रेफरीको त्यही फसेलाको विरोध गर्दै रविन्द्र संघको टीमले खेल्न अस्वीकार गऱ्यो। त्यसपछि बारम्बार अनुरोध गरिँदा पनि रविन्द्र संघका खेलाड़ीहरूले खेल्न अस्वीकार गर्दा तरुण तीर्थलाई च्याम्पियन घोषित गरियो।