लिज रद्द गर्नुपर्छ भनी मांग गरेर उनीहरू बगम्फुसे कुरा गर्दैछन्: अनित थापा

IMG-20240710-WA0200

खरसाङ: केही दिन पूर्व गोर्खा जनमुक्ति मोर्चाका महासचिव रोशन गिरीले जीटीएले पर्यटकीय भवनहरू लिजमा दिएकोमा आपत्ति जनाउँदै मुख्यमन्त्री ममता ब्यानर्जीलाई पत्राचार गरेर लिज रद्द गर्न मांग राखेका थिए। त्यही विषयलाई लिएर जीटीए चिफ् अनित थापासँगको संवादमा थापाले भने, “सरकारी सम्पत्तिलाई लिजमा दिनु कुनै नौलो कुरा होइन। रोशन गिरीले जुन बयान दिएका छन्, उनले आफूले सत्ता चलाएको समयभित्र पसेर सायद सत्ता चलाएनन् जस्तो लाग्छ। सुके जोरपोखरी सरकारी महाविद्यालय मुनिको कार पार्किङ, दार्जीलिङ्ग रेलवे छेउको कार पार्किङ विमल गुरूङको समयमा लिजमा दिइएको थियो। रोशन गिरी दाज्युले आफ्नो समयमा सरकारी सम्पत्ति लिजमा दिएको बिर्सनु भयो होला। बयान दिनु अघि अध्ययन गर्नुपर्छ।”
थापाले अझ भने, “लिजमा दिने काम सरकारको नियम अनि कानुन मुताबिक हुन्छ। केन्द्र सरकारले रेलवे, हवाई अड्डा, केटरिङ आदि लिजमा दिएर नै काम चलाई रहेको छ। त्यसरी नै राज्य सरकारले पनि विभिन्न सरकारी सम्पत्तिलाई लिजमा दिएका छन्। मलाई लाग्छ मुद्दा नपाएर मुद्दा खोजी रहेका छन्। हामीले जे गर्दा पनि बेठीक देख्ने अहिले ट्रेन्ड चलेको छ। त्यसैले हाम्रो कामको विरोध गर्नुको लागि मात्र पनि यस्ता बयान बाजीहरू प्रकाशमा आईरहेको छ।”
थापा भन्छन्, “लिज अनलाइन टेण्डर मार्फत भएको हो। लिज अनित थापाले दिएको होइन। व्यवस्थामा सचिव छन्, अन्य अधिकारीहरू छन्। सबैको मन्थन अनि परामर्श भएर नै अनलाईन टेण्डर मार्फत लिज दिइएको हो।”
लिजको रकम कम भएको आरोपमाथि थापाले भने, “अनलाईन टेण्डर भएको हो। त्यसैले जसले जे कोट गरे त्यसै मुताबिक लिज पाएको हो। दागोपाप समय पनि यस्तै टेण्डर खोलिएको थियो। अजय एडवर्ड्सले पनि त्यसै टेण्डर मार्फत सरकारी सम्पति लिजमा लिएका थिए।”
जीटीएले लिज रद्द गर्ने हो भनी प्रश्न गर्दा उनले भने, “लिज रद्द गर्नु पर्छ भनेर मांग गरेर उनीहरू बगम्फुसे कुरा गर्दैछन्।”

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement