खरसाङमा शहीद कप्तान सुरज शर्मालाई नमन श्रद्धाञ्जली

IMG-20240710-WA0136

खरसाङ: खरसाङमा शहीद कप्तान सुरज शर्मालाई नमनसहित श्रद्धाञ्जली अर्पण गरिएको छ। दार्जीलिङ हिमालय क्षेत्र, पहाड़ कन्दरा विव्हल भई शहीद कप्तान सुरज शर्मालाई अश्रुपूर्ण श्रद्धाञ्जली अर्पण गरेको तेईस वर्ष पूरा भएर चौबिस लागेको छ। शहीद उनै हुन् जसको उत्सर्ग, बलिदान, र त्यागले सिँचेको भूमिमा जन्म लिने सन्ततिले न्यानो घामको उपभोग गर्दछन्। शहीद उनै हुन् जसले आफ्नो इच्छा र मनोकांक्षाहरूको तिलाञ्जली दिएर स्वदेश, स्वजातिको रक्षार्थ प्राणोत्सर्ग गर्दछन् । त्यस्ता वीर शहीदमा हाम्रो शिर सदैव श्रद्धाले झुक्दछ। शहीद त्यस्ता महान व्यक्तित्व हुन् जसको कुनै जात, धर्म हुँदैन, सिमाना साँध हुँदैन। शहीद, परिवारको माया, ममता, सम्बन्ध साइनो, कालखण्ड र परिस्थितिको परिधि घेरादेखि अतुलनीय अपारता र अनन्ततामा सदैव चिरस्मरणीय भएर अमर रहन्छन्। शहीद जन्माउने ती कोख धन्य हुन्, ती जाति धन्य हुन्, यी समाज र देश धन्य हुन् जसले शहीद जन्माउने अहोभाग्य प्राप्त गर्दछन्। गोर्खा सांस्कृतिक संस्थान, खरसाङले शहीद कप्तान सुरज शर्माको चोबिसौँ पुण्य तिथिको अवसरमा शहीद कप्तान सुरज शर्मा पथ, खरसाङमा संस्थानको तर्फबाट श्रध्दाञ्जली अर्पण गर्ने कार्य गरेका छन्। यस अवसरमा गोर्खा सांस्कृतिक संस्थानको संरक्षक पारस लामा, अध्यक्षा आशा मुखिया लामा, उपाध्यक्षा बिजया ब्लोन, मूल सचिव प्रणिता मुखिया घिसिङ,कार्यकारी सदस्या वसुन्धरा शर्मा आदि भेला भएर धूपदीप प्रज्ज्वलन गरी शुद्ध जल अर्पण गरी खदामाला अर्पण गरेर एक मिनटको मौन धारण पालन गरेको छ। सदस्यहरूले घनघोर वर्षाको परवाह नगरी भेला भएर शहीदलाई नमन श्रद्धाञ्जली अर्पण गरेका थिए। जो खरसाङ टुरिष्ट लज छेउदेखि ओह्रालो लाग्ने बाटो सुधपा टोल भएर मन्टीभियट भएर पोलिटेक्निक कलेजबाट भएर पंखाबारी पथ, खरसाङ थाना छेउ निस्कने पथको नामकरण सन् २००२ मा तत्कालीन खरसाङ नगरपालिकाको आधिकारिक अनुमोदनमा यो पथको नाम ‘शहीद कप्तान सुरज शर्मा पथ’ भएको हो। शहीद कप्तान सुरज शर्माको जन्म १५ अक्टोबर १९७५ मा खरसाङको सन्त मेरिजमा पिता रामकुमार शर्मा अनि माता राधिका शर्माको कोखबाट भएको थियो। सन् २००० मा सेनाको गौरवमय ओहदा ‘कप्तान’ पदमा विराजित भएर आफ्नो मातृभूमि भारतमाता प्रति समर्पित भएर गौरवपूर्ण ‘बलिदान’ पदक प्राप्त गर्न सक्षम भएका थिए। यस्ता होनहार आदर्शवादी योद्धा कप्तान सुरज शर्माले भारतमाताको रक्षाको निम्ति काश्मिरको कुपवाड़ा क्षेत्रमा देशरक्षा गर्दा गर्दै ८ जुलाई २००१ को ब्रह्म मुहुर्तमा वीरगति प्राप्त गरेर शहीद भएका थिए। गोर्खा सांस्कृतिक संस्थान, खरसाङ सम्पूर्ण भारतीय गोर्खा, समग्र देशवासी अनि खरसाङ नागरिकको पक्षमा हार्दिक नमन श्रद्धाञ्जली अर्पण गर्दछौँ भनी खरसाङ गोर्खा सांस्कृतिक संस्थानकी अध्यक्षा आशा मुखिया लामाले जानकारी गराएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement