म्यूनिख: शुरुमै गोल खाएपछि स्पेनले असाधारण पुनरागमनको साथ यूएफा यूरो कप २०२४ फूटबल टुर्नामेण्टको फाइनलमा स्थान बनायो। मंगलवार अबेर राति खेलिएको टुर्नामेण्टको पहिलो सेमिफाइनलमा स्पेनले शक्तिशाली फ्रान्सलाई २-१-ले पराजित गऱ्यो। यसरी टुर्नामेण्टमा ३ पल्टको च्याम्पियन स्पेन आफ्नो चौथो खिताब हासिल गर्नदेखि केवल एउटा जीतको दूरीमा रहन पुग्यो। स्पेनलाई यादगार जीत दिलाउनमा १६ वर्षीय युवा फूटबलर लामिन यामलको महत्त्वपूर्ण भूमिका रह्यो। यामलले म्याचमा स्पेनको निम्ति गोलको खाता खोले। यसको साथै उनी यूरो कपको इतिहासमा सबैभन्दा युवा गोलदाता बने। सेमिफाइनल अघिसम्म टुर्नामेण्टमा तीनवटा एसिस्टको साथ प्रभावशाली प्रदर्शन गर्ने यामलले फ्रान्सविरुद्ध पनि आफ्नो छाप छोड़े। आलियाञ्ज एरेनामा ५९ प्रतिशत पोजेशनको साथ खेल्ने स्पेनले शुरुमै गोल खायो। दिग्गज फरवर्ड कीलियन एम्बाप्पेको पासमा राण्डाल कोलो मुआनीले आठौं मिनटमा गोल गरी फ्रान्सलाई बढ़त दिलाए। यसरी शुरुमै पछाड़िएपछि स्पेनले पनि म्याचमा बराबरी र बढ़त हासिल गर्न अधिक समय लगाएन। स्पेनिश टीमले केवल ४ मिनटभित्र २ गोल गरी फ्रान्समाथि दबाउ सृष्टि गऱ्यो। पहिला यमालले २१औं मिनटमा लामो दूरीबाट दर्शनीय गोल गरी स्पेनलाई १-१-को बराबरीमा पुऱ्याए। त्यसपछि डानी ओल्मोले २५औं मिनटमा अझ एक गोल गरी स्पेनलाई बढ़त दिलाए। स्पेनिश टीमले त्यही बढ़तलाई अन्तसम्म कायम राखेर फाइनलमा प्रवेश गऱ्यो। रहल समयमा फ्रान्सीसी टीमले लगातार प्रयास गरे पनि गोल हासिल गर्न सकेन। म्याच जितेपछि यमालले भने, म आफ्नो खेलको मजा लिइरहेको छु अनि फाइनलमा पुगेर गर्वित छु। यसरी अल्मोले भने, हामी अहिले च्याम्पियन बन्नदेखि केवल एक कदमको दूरीमा रहेका छौं। यो अविश्वसनीय टीम हो अनि हामी यसको हकदार हौं। यूरो कप २०१२ पछि यो स्पेनको पहिलो प्रमुख फाइनल हुनेछ। अब बुधवार अबेर राति (१२:३० बजीदेखि) खेलिने दोस्रो सेमिफाइनलमा नीदरल्याण्ड र ईंग्ल्याण्डबीच भिड़न्त हुनेछ। फाइनल १५ जुलाईमा खेलिनेछ।