दुधे: राई गाउँ फूटबल क्लब (आरजीएफसी)-को तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा अमन सेभेन लंगभ्यूले प्री-क्वार्टर फाइनलमा प्रवेश गऱ्यो। दुधे फूटबल मैदानमा मंगलवार भएको म्याचमा अमन सेभेनले मौसम सेभेन दुधेलाई ३-०-ले पराजित गऱ्यो। विजेता टीमबाट सरोज राईले ह्याट्रिक गरे। उनले म्याचको नवौं, २१औं र ४५औं मिनटमा गोल गरे। म्याचमा रेफरीको भूमिका प्रवीण प्रधानले निर्वाह गरेका थिए। यसरी सहायक रेफरीको भूमिकामा रुस्तम प्रधान र सुकराज राई थिए जबकि कुणाल छेत्री फोर्थ अफिसियल रहेका थिए। अब बुधवार खेलिने म्याचमा मरमाह युथ क्लब र मतिगड़ा फूटबल क्लबबीच भिड़न्त हुनेछ। म्याच दिउँसो ३ बजीदेखि शुरु हुनेछ। यस सेभेन ए साइड फूटबल टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल म्याच १० र ११ अगस्तमा हुनेछ। यसरी फाइनल १५ अगस्तमा खेलिनेछ भनी आयोजक समितिको पक्षमा विशाल सुब्बाले जानकारी दिएका छन्।