सोमबारिया, सोरेङ र टीएनए स्कूल सुब्रतो कपको लागि छनौट

IMG-20240709-WA0228

सोरेङ: दिल्लीमा प्रतिवर्ष आयोजना हुने सुब्रतो कप अन्तर्राष्ट्रिय फुटबल टुर्नामेन्ट अन्तर्गत ६३औं संस्करणको निम्ति सिक्किमबाट भिन्नभिन्न वर्गमा तीनवटा स्कूलले सिक्किमको प्रतिनिधित्व गर्नेछन्। खेलकुद एवं युवा मामिला विभागको तत्वावधानमा सिक्किमको विभिन्न खेलमैदानमा सम्पन्न गरिएको अन्तरविद्यालय प्रि-सुब्रोतो कप फुटबल टुर्नामेन्टको समापन भएपछि सिक्किमबाट अन्डर-१७ पुरुषमा सोरेङ जिल्लाको सोमबारे सिनियर सेकेन्डरी स्कुल र अन्डर-१७ महिलामा सोरेङ जिल्लाकै सोरेङ सिनियर सेकेन्डरी स्कुल अनि अन्डर-१५ पुरुषमा गान्तोक जिल्लाका गान्तोक टीएनए स्कुलले दिल्लीमा आयोजना हुने अन्तरविद्यालय स्तरको प्रतिष्ठित टुर्नामेन्टमा सिक्किमको प्रतिनिधित्व गर्नेछन्। गान्तोक पाल्जोर स्टेडियममा सोमबार खेलिएको राज्य स्तरीय अन्तरविद्यालय प्री-सुब्रोतो कप फुटबल टुर्नामेन्टको फाइनल खेलमा सोमबारे स्कुलले गान्तोक टीएनए स्कुललाई शुन्यको विरुद्ध ४ गोलले परास्त गरेपछि सुब्रतो कपको लागि छनौट भएको हो। यसरी नै अन्डर-१५ पुरुष फुटबल खेलमा टीएनए स्कुलले सोमबारे स्कुललाई फाइनलमा परास्त गरेर सुब्रोतोकप टुर्नामेन्टको लागि टीएनए स्कुलले स्थान पक्का गरे। अर्कोतिर महिला अन्डर-१७ खेलमा सोरेङ सिनियर सेकेन्डरी स्कुल प्रि-सुब्रोतो कप फुटबल टुर्नामेन्टको राज्य स्तरमा विजयी बने। नाम्ची भाइचुङ स्टेडियममा सोमबार राज्य स्तरीय प्री-सुब्रोतो कपको फाइनलमा सोरेङ स्कुलले नाम्ची आसाङथाङ स्कुललाई शुन्यको विरुद्ध १० गोलेको फराकिलो अन्तरले परास्त गरेपछि सुब्रतो कपको लागि छनौट भएका हुन्। अघिल्लो वर्ष २०२३-मा पनि सोरेङ स्कुल कै महिला खेलाडीहरुले दिल्लीमा सिक्किमको प्रतिनिधित्व गरेका थिए।

उल्लेख्य, सुब्रोतो कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता भारतको नयाँ दिल्लीमा हरेक वर्ष आयोजना हुने एक प्रतिष्ठित अन्तर-विद्यालय फुटबल प्रतियोगिता हो। प्रतियोगिताको नाम पहिलो भारतीय वायुसेना प्रमुख एयर मार्शल सुब्रोतो मुखर्जीको नाममा राखिएको हो। यस टुर्नामेन्टको आरम्भ १९६०-मा सुरु भएको थियोे भने टुर्नामेन्टको ६३ औं संस्करण दिल्लीमा सम्पन्न हुनेछन्। यस टुर्नामेन्टमा देशभरिका च्याम्पियन स्कुलहरुले अंशग्रहण गर्ने गर्छन्।

About Author

Advertisement