खरसाङ: केन्द्र सरकारद्वारा प्रदत्त जीवन जल प्रकल्पलाई यता दार्जीलिङ पहाड़मा भने स्थानीय पार्टीका प्रतिनिधिहरूले शिलान्यास गरेर आफूले ल्याएको जस्तो गरिरहेको तर विरोध चै फेरि उही केन्द्र सरकारको विरोध गरिरहेको अभियोग खरसाङका विधायक विष्णु प्रसाद बजगाईंले लगाएका छन्। तिनी आज खरसाङ खण्ड अन्तर्गत सिटोङ तीन ग्राम पंचायतको सेल्फु नसपाती गाउँमा केन्द्र सकारद्वारा प्रदत्त जीवन जल परियोजनाको निम्ति सेल्फु पुगेका थिए। तर त्यहाँ उक्त काम गर्न केही राजनीतिक दलहरूले बाधा दिएको तथा विभागीय पक्षबाट पनि स्थानीय सत्तारूढ़ दललाई प्राथमिकता दिएर कार्य गरिरहेको तथा आजको यस कार्यक्रममा विधायक बजगाईंले विभागीय अधिकारी र अभियन्ताहरूलाई बोलाएको भए तापनि उनीहरू यहाँ नआएको जनाउँदै ती अभियन्ता र अधिकारीहरूले राजनीति पार्टीको क्याडर भएर कार्य गरिएको बताउँदै अब उनीहरूलाई राजनीति मैदान देखाउने बताएका छन्। उनले अब जनतालाई अन्याय हुन नदिने बताउँदै सरकारद्वारा प्राप्त कुनै पनि विकासमूलक कार्यको निम्ति कसैलाई एक पैसा पनि कमिशन नदिने बताए। यहाँको एउटा समुदायिक भवनमा आयोजित कार्यक्रममा स्थानीय गोजमुमो पार्टी कार्यकर्ताहरू लगायत गाउँलेहरू उपस्थित थिए। यसै अवधि विधायकले यहाँको सेल्फु जूनियर हाई स्कूल अनि जीर्ण अवस्थामा रहेको स्कूलको पनि परिभ्रमण गरे। तिनलाई यस अवधि स्थानीय मानिसहरुले स्वागत जनाए। पछिबाट खरसाङका विधायक बीपी बजगाईले पत्रकारहरूसित कुराकानी गर्दै केन्द्र सरकारले दिएको पानीको योजनालाई लिएर आज खरसाङको सिटोङ तीनमा आएको जानकारी गराउँदै आज पीएचई विभागको अधिकारीहरूलाई पनि बोलाएको थिए तर कोही पनि आएन र अब यसको खबर लिनेछु भनी बताएका छन् । विधायक बीपी बजगाईले सरकारी अधिकारीहरूले सरकारको योजनालाई राजनीतिकरण गर्न खोजेको जस्तो लाग्यो तर म अब शुन्य भष्टचारको नीति लिएर आएको छु र यस विषयमा कार्य गर्ने बताएका छन्। उनले केन्द्र सरकारले दिएको पानीको योजना जल जीवन मिशन हो र यस योजनाबाट हर घर जल हुन्छ तर यो योजनामा यहाँ राजनीति भईरहेको बताएका छन्। यहाँको स्थानीय राजनैतिक पार्टीले जल जीवन मिशन योजनालाई राजनीतिकरण गरेको आरोप लगाउँदै केन्द्रमा रहेको भाजपा सरकारले दिएको पानीको योजनाहरूका शिलान्यास चैं गर्ने तर त्यही शिलान्यास कार्यक्रममा चैं भाजपालाई नै गाली गर्ने यस्तो दोहोरो चरित्र राम्रो हुँदैन भनी बताएका छन्।

खरसाङका भाजपा विधायक बीपी बजगाईले अघि भने – ‘ म अाज खरसाङको सिटोङ तीन अन्तर्गत नस्पति गाउँमा आएको बेला यहाँको छुला गाउँको अप्पर प्राइमेरी स्कूलको निरीक्षण गरे। यो स्कूल छ वर्ष भएर पनि निर्माण कार्य पूरा नभएको देखेँ। यस स्कूलमा एक राजनीतिक पार्टीले आफ्नो पार्टीको रंगले स्कूल रंग गरेको छ। यसले गर्दा नानीहरूलाई हामीले पार्टीको क्याडर बनाउने कि शिक्षार्थी बनाउनु हो, यो एकदमै दु:खको कुरा हो। स्कूल बोर्डको अधिकारीले पनि यहाँ निरीक्षण गर्न नआएको प्रणाम यस स्कूलको जीर्णावस्थाले बुझाएको छ। म यस विषयमा शिक्षा विभागमा संज्ञान लिनेछु।”
विधायक बीपी बजगाईले सिटोङको एक ठाउँमा काम गर्नलाई कसैले एउटा पाइपको बाइस सय रुपियाँ गरेर माग्दैछ हरे भन्दै कुनै पनि सरकारी कार्यमा कसैले पैसा माग्छ भने मलाई सोझै फोन गर्नु सक्नु हुनेछ भनी बताएका छन्।