जलपाईगुड़ी: केही दिनको अन्तरालमा फेरि एउटा चितुवा खोरमा कैद भएको घटना मेटेली चिया बगानमा घटेको हो। गत बिहीवार मात्र बगानको छोटा कोठी लाइनको २२ नम्बर सेक्शनमा वन विभागद्वारा राखिएको खोरमा एउटा चितुवा कैद भएको थियो।
चितुवा थुनामा परे पनि यस क्षेत्रबाट बाख्रा, कुखुरा, सुगुँर आदिको शिकार हुन छोड़ेको थिएन। त्यसपछि फेरि वन विभागद्वारा गत शुक्रवार यहाँको २२ नम्बर सेक्शनस्थित मलार लाइनमा खोर राखियो। गए सोमवार अबेर राती उक्त खोरमा एउटा वयस्क चितुवा थुनियो। अबेर राती चितुवाको गर्जना सुनेर स्थानीय मानिसहरू घटनास्थलमा पुगे। त्यसपछि यसको सूचना वन विभागलाई दिइयो। सूचना पाएर खुनिया स्क्वायडका वनकर्मीहरू
घटनास्थलमा पुगे अनि चितुवालाई जफ्त गरे। खुनिया स्क्वाडका रेञ्जर सजल कुमार देले भने, एक साताभित्रमा दुईवटा चितुवा खोरमा थुनिएका छन्। यो चितुवालाई गोरूमारा जंगलमा छोड़िनेछ।